Tuesday, August 24, 2021

जातको जरो अब उखाल्नु पर्यो नमिता पौडेल २० असार आइतबार, २०७८ | १०:१५:०० मा प्रकाशित

 नमिता पौडेल २० असार आइतबार, २०७८ | १०:१५:०० मा प्रकाशित

Link: https://www.gaunsahar.com/news-details/41024/2021-07-04?fbclid=IwAR3qS1WiMWjXwOAYvnyuPlfikL3kJM3VQYv8t0TuanPcGAUe58HkIm8DtxA

बिरालोकाे मासु खाउ ल आज ? 
छ्या के भनेको के ? बरु भोकै मर्छु तर खान्न !

किन ? अरु खसी बोका भेडा घर पालुवा त खान्छौ त, त्यसोभए भए कुकुरको खाउ न त ! भारतको नागाल्याण्ड प्रसिद्ध छ कुकुरको मासु, त्यसैगरी चीनको केहि प्रान्तमा, विशेष गरेर जाडो समयमा बिरालोको मासु खाने गरिन्छ त ? 

भने नि म बरु मर्छु तर खान्न !!

यो एउटा बार्तालाप मैले मेरो श्रीमानसंग गरेको हुँ ।
यो उदारणको सन्दर्भ यहि लेखमा पछि जोड्ने छु । 

म एउटा उपाध्याय बाहुनको छोरी,  मेरो मावली पनि उपाध्याय बाहुन हुन् । म सानोमा मामाघर बस्थेँ । मलाई यसरी हुर्काइएको थियो कि यदि मैले कामी, दमाई, सार्कीसंग विवाहको कुरा त पर जाओस् कल्पना समेत गर्ने अनुमति थिएन । हाम्रो घरमा काम गर्न आउने जति पनि तल्लो जातीको दिदीहरु हुनुहुन्थ्यो । उहाँहरुले खाएर बाहिर धोएर राखेको थाल पनि नछोनछो भन्नु हुन्थ्यो । हामीलाई हाम्रै उमेरको तल्लो जातिहरुको साथईलाइ “तँ” साइनो लगाएर बोलाऊन लगाइन्थ्यो भने उनीहरुले चै हामीलाई तिमी र तपाईं सम्बोधन गर्थे । आजको मितिमा पनि मेरो हजुरआमाले तल्लो जातिसंगको सम्बन्ध परिवारभित्र कसैले गरे स्वीकार गर्नु हुन्न । अझ मलाई के पनि भनिएको थियो भने, तिमी हाम्रो परिवारको जेठी छोरी हो, यदि तिमीले बुद्दी बिग्रेमा भाई बैनीहरु पनि त्यहि बाटोमा लाग्छन् त्यसकारण जैसी पनि माग्न आए, म दिन्न भन्नु हुन्थ्यो । मलाई कुनै केटा मन परिहाले पहिले उसको थर के होला भनेर दिमाग आफैँ जान्थ्याे । यदि बाहुन हैन रहेछ भने म साथी पनि बनाउन डराउँथेँ किनकी आफ्नो परिवार त्याग्न कसलाई पो मन हुन्छ र ! 

मैले बाहुनसंगै विवाह गरेर, पढेर, आज समाजशास्त्रमा एमफिल गरिसकेपछि मात्र यति लेख्ने र बोल्ने आँट गर्दै छु । नत्र चलिआएको चलन बिगार्ने खोज्ने तँ को होस्, तलाईं कुलङ्गार्नी (कुल बिगार्ने) यस्ता प्रश्नहरुको सामना गर्नु नपर्ने बाहुनका छोरी आज पनि बिरलै होलान् । उनीहरु पनि म जस्तै परिवार त्याग्नु पर्छ भनेर सायद जिवनसाथी रोज्नु अगाडि थर सोध्छन् होला, या सम्बन्धमा परिसकेपछि पनि परिवार गुमाउने डरले धोका दिन्छन् होला । यो जातको रुख आज रोपिएको हैन र मलाई जसले सिकायो उसलाई पनि यसैगरी उसका अघिल्लो पुस्ताले सिकायो । र यो सिकाउँदा र गर्दा समाजको सत्यनै यहि बन्यो ।

अब म बिरालोलाई यहाँ जोड्न चाहेँ । खसी, बोका, कुखुरा जस्तै बिरालो पनि एउटा घर पालुवा जनवार हो । कुकुर पनि एउटा घर पालुवा जनवार हो । तर हामी किन खाँदैनौँ, या घिनाउँछौ भन्दा हामीलाई खुवाएको छैन, वा हामीलाई सिकाएको छैन । त्यही भएर मैले मेरो श्रीमानलाई बिरालोको मासु भन्ने बितिकै छ्या जोडियो । त्यस्तै घरबेटीलाई कामी भन्ने बितिकै छ्या जोडियो होला यद्दपी उहाँले भेदभाव गरेको कुरा स्वीकार्नु भएको छैन । तर स्वं म ब्राहमणको छोरी भएर घरमा भोगेको आधारमा भन्दै छु उहाँहरुलाई त्यस्तो लाग्नु स्वाभाभिक हो । किनभने उहाँहरुलाई यो कुरा बुझाईएको छैन अर्थात सिकाएको छैन । जे गरी आयो त्यसैलाई निरन्तरता दिनु उहाँहरु धर्म मान्नु हुन्छ । माफ गर्नुहोला मैले बिरालोको मासु खानुलाई जातीय समानतासंग जोडेको हैन । कुरालाई प्रष्ट पार्न उदाहरण मात्र दिएको हुँ ।

कानुनका कुरा

अब रह्यो कानुनको कुरा, हो कानुनमा कुनै पनि विभेद गरेमा सजायको भागिदार हुनेपर्नेछ भनेर लेखिएको छ तर यहाँ ‘म चोर’ भनेर कसैले आफैँ भन्दै जान्छ ? गइहाले पनि न्यायलयका प्रमुखहरु पनि यही सामाजिक संरचना भित्रकै हुन् त्यसकारण घरबेटीलाई खोइ त कानुन नेपालको कानुन लाग्यो त ? यसो एकदिन लगेर हामीले दलितमाथि विभेद गर्ने लाई सजाय दिएको छौँ है भनेर भोलिपल्ट छोडी दिएपछि खोइ त कानुन ? फेरी कानुन छ भन्दैमा कानुन सबै मानिएको छ र ? कानुनमा त महिला हिंसा गर्नेलाई पनि दण्ड छ तर हरेक घरको महिला हिंसा दण्डित छ त ? नवराज बिक, अजित मिसार र अरु धेरै घटनाहरुलाई कानुनले कानुनमा लेखे बमोजिन न्याय गरेको छ त ? 

म जसरी नै लेख्ने, बोल्ने, सामाजिक संजालमा समानताका कुरा गर्ने कति प्रतिशत गैर दलितले दलितसंग झ्याईंझ्याईं बिहा गर्नु भएको छ ? कति प्रतिशतले घर भाडामा दिँदा थर सोध्नु हुन्न ? मेरो फेसबुकमा आएका धेरै भन्दै धेरै पोस्ट गैर दलितको छ, विभेद गर्नु हुँदैन, सजाय हुनु पर्छ भनेर । सबैलाई मेरो प्रश्न के तपाई दलितको छोरी वा छोरासंग विवाह गर्न तयार हुनहुन्छ ?  विवाह भइसकेको हरु त झन् ढुक्कले कुरा गर्नुहुन्छ म जस्तै । कुरा गर्नु र व्यवहारमा उतार्नु फरक कुरा हो । कुरा त हामी सबै ठुलै गरिदिन्छौँ तर जब गर्ने पालो आउँछ नि बिरालो जस्तै बनिदिन्छ ।

हो आज जात पनि यस्तै भएको छ । कानुनमा छ, किताबमा छ, दिमागमा पनि छ अनि मनमा पनि तर व्यवहारमा ? छैन । किन छैन हामीले इन्टरनलाईज गर्न सकेको छैन । नगर भन्नु भन्दा पनि आफैँले बुझेर नगर्नु पर्ने समाज बनाउन नै समानताको ढोका खोल्नु हो ।

कसरी हटाउन सकिन्छ त यो जात व्यवस्था ?

म हरेक दिन इन्टरनलाईज गर्ने कोसिस गरेर आजको मितिमा समानताको बारेमा बोल्न सकेको हुँ । बाल्यकालमा थोपरिएको त्यो जात प्रतिको ढिस्को भत्काउन, मलाई यो समाज बुझ्न, मलाई मेरो परिवारले सहयोग गरेको छैन । मेरो समाजले पनि गरेको छैन । मैले लिएको शिक्षाले पनि गरेको छैन किनभने पटक पटक ४ जात भनेर पढाउँदा मेरो दिमागमा, ‘ए म त माथिलो जाति पो रहेछु भनेर फिल भइराखेको हुन्थ्यो’ भने म जस्तै ‘ए म तल्लो जातिको रहेछु भनेर फिल हुन्थ्यो होला’ । एक खालको सुपेरिर्यिटी स्कुल पढ्दानै परिवार र किताबी ज्ञानबाट आइसकेको हुन्छ । तसर्थ किताबी ज्ञानमा ४ जात हटाई अर्थात् किन तल्लो कुन माथिल्लो नभनिकन, जातकै आधारमा कुनै पनि विभेद गर्न पाइँदैन भनेर शिक्षा दिन जरुरी छ ।

समाज बुझ्ने विषयलाई सधैँ प्रोत्साहन गर्न पनि आवश्यक छ । म आफैँ एउटा लेक्चरर, मास्टर इन सोसोलोजीलाई येही कुरा भन्दा उनीहरुले बुझे जस्तो गर्छन् तर इन्जिनियर, कम्पुटर अप्लिकेसन, व्यस्थापन जस्ता विधार्थीलाई पढाउँदा सधैँ येही कोटाको कुरा निस्किन्छ । “म्याम मिहिनत गरेर पढयो, के गर्नु आफू बाहुन परियो कोटामा परिएन ।” कोटाप्रति एक खालको आक्रोस अझै पनि यही समाजको किताबी ज्ञान पढेर आउने भाई बैनीहरुमा देखिन्छ तसर्थ कहिले हुन्छ त यो संरचनामै परिवर्तन ? कोटा सिस्टमको अर्थ बुझाउन अझै पनि हामी अभिभावक, गुरु र समाज नै पछि परेको छौँ कि भने भाब भएको छ मलाई । तसर्थ हामी मानव एक हौँ, जाति आधारमा, लिङ्गको आधारमा, वर्गको आधारमा, क्षेत्रकाे आधारमा कुनै पनि विभेद गरिनु हुँदैन भनेर सचेतना व्यापक रुपमा गरिनु पर्छ । कानुनमा सजाय भन्दा पुरस्कारको व्यस्था हुन् जरुरी छ । कानुनमा हरेक विभेद हटिसकेको छ तर आम समाजमा परिवार्तन गर्न अझ धेरै सचेतनाको व्यवहारिक कार्य गर्न जरुरी छ ।

लेखिका सरस्वति बहुमुखी क्याम्पस, ठमेलमा प्राध्यापन गर्छिन् ।

No comments:

Post a Comment