Sunday, December 17, 2017

मलाई हेर्ने ती अाँखा








कोटेश्वर चोक। बिहान ८ बजेतिर  आमा्बुवाहरु छोराछोरीको हात समातेर स्कुल बस पर्खिरहेका छन्। केटाकेटी आफ्नो हुलमा खेल्न मस्त छन्। त्यो दिन पनि  कोटेश्वरको दृश्य सामान्य नै थियो, म सधैँझैं स्कुटीमा अफिस गइरहेकी थिएँ।
तर त्यो दिन भीडभित्र मेरा आँखा पुग्छन् र ठोकिन्छन् एक यूवकका आँखासँग। जस्को मुख र नाक मास्कले छोपिएको छ। जाडो भएर होला उसले टाउको पनि लुकाएको छ। देखिएका छन् त केवल उसका दुई आँखा। जुन मलाई पहिलो हेराइ मै चिरपरिचित लागे। अनुहार नदेखे पनि ती आँखासँग म झस्किएँ।
लगभग ८/९ वर्षकी, जामा लगाएकी (सायद उसकी छोरी हुनुपर्छ) बच्चीको हात समातेको थियो। छोरीसँग व्यस्त देखिए पनि उसका आँखा घरिघरी मसँग जुध्न पुग्छन्।
भोलिपल्ट पनि म त्यही समयमा त्यही बाटोमा गएँ। फेरि त्यही युवकका अाँखाले मलाई  स्कूटी रोक्न बाध्य बनायो। केहीबेर रोकिएँ र ती आँखालाई नियालें। युवकलाई चिन्न खोजें तर असफल  भइन्।
लाग्यो- उसका एकजोर आँखासँग मेरो गहिरो सम्बध छ। ती आँखासँग मैले मेरा आँखा धेरैचोटि जुधाएकी छु। झन ती आँखाका नानी मैले एकदमै नजिकबाट नियालेको छु।
त्यो युवकको अनुहार हेर्ने र उसको परिचय जान्न मन लाग्यो।  तर बोलुँ कसरी? अरुसँग पटरपटर गर्दै बोल्ने मैले उसका आँखाअगाडि बोल्ने आँट गरिनँ। हरेक दिन त्यही समयमा त्यही बाटो हिँड्नु त्यही युवकसँग आँखा जुध्नु मेरो दिनचर्याको एउटा हिस्सा बन्न पुग्यो।
दिनभरि चारो खोज्ने काम सकिएपछि म आफ्नो गुँडतिर फर्किन्छु। बचेरालाई चारो दिन्छु अनि थकानलाई मेटाउन बिस्तारामा पल्टिन्छु।
आँखा चिम्लिएर निदाउन कोसिस गर्दा पनि त्यो युवकको आँखा मेरो मानसपटलमा घुम्न थाल्छन्। आखिर मैले कहिले जोडें ती युवकसँग सम्बन्ध? किन ती आँखाका नानी मेरो आँखा वरिपरि घुम्छन्?
जीवनको लामो यात्रामा हजारौं मानिसहरु भेटिन्छन्। कोही आउँछन् र जान्छनमात्र। कसैले जीवनमा बहुमूल्य याद छाडेर जान्छन् ती मनिसलाई चाहेर पनि बिर्सिन सकिदैन्। ती हाम्रा यादमा सधैं ताजा रहिरहन्छन्। जीवन सधैं एकैनास हुँदैन अनि एउटै कुरालाई सम्झेर जीवन चल्दैन यो यथार्थलाई मैले राम्रोसँग बुझेकी थिएँ।
मेरो जागिर अर्कोतिर हुनपुग्यो अनि बाटो पनि बद्लियो। हरेक दिन जुध्ने आँखा अब जुध्न छाडे। हरेक दिन ती आँखाका दर्शन बिना आधुरो लाग्ने दिन अब पुरा लाग्न थालेको थिए। जिन्दगीको मोड म केही महिनाका लागि देखिएका आँखा  रहस्यमा नै रहने भयो त?
जान्ने प्रयास हुँदाहुँदै पनि ब्यस्तताले फेरि बिर्सिन पुगे।
बुवाको तिथिको दिन बिहान उठें। आफ्नो नित्यकर्म सकेर पशुपतितिर लागें। हरेक वर्ष म पशुपति गएर विधिसहित बाहुन राखेर बुवाको वार्षिक तिथि गर्छु। छोरा नभएकोले छोराले गर्नु पर्ने दायित्व बिहे गरे पनि मैले गर्नुपर्ने कर्तव्य ठान्छु।  पशुपतिमा जीवनकुमार दाहाल नाम गरेको बाहुन भेटें। उनलाई आफ्नो वार्षिक तिथि समापन गरिदिन भने। तिथि कर्म गर्दैगर्दा मेरो नाम, मेरो पिताको नाम, गोत्र, घर सबै सोधियो। मैले बताउँदै गएँ। ती बाहुनले राम्रोसँग सबै विधिसहित सके।
मैले दक्षिणा दिनलाई पैसा निकालें तर उनले दक्षिणा नलिने भने।
'हजुरले पेसाले नै पाएको पैसा किन नलिने ? फेरि हजुरले बिहानभरि लगाएर गर्नुभएको मिहिनेतको फल हो। यो लिनुहोस्।' मैले भनें।
उनले भने - तपाईंहरूले मलाई  ठुलो गुन लगाउनु भएको  छ।  गुनको अगाडिको पैसा केही नि होइन।
फेरि मैले भनें - होइन मलाई  दक्षिणा  बिना आफ्नो पिताको तिथि कर्म अपुरो लाग्छ।
मैले पैसा लिएँ भने हजुरको पिताको आत्माले सराप्छ।
किन? हजुरको त पेशा हो।
पेशा गर्न सक्ने भएको म हजुरको पिताको दानले भएको हो।
को हो हजुर? के दान दिनुभयो मेरो पिताले हजुरलाई ? तपाईंलाई म पहिलोचोटि देख्दैछु आवाज पनि पहिलोचोटि सुन्दै छु। बुवासँग हजुरको सम्बध भएको त मलाई थाहा हुनुपर्ने त?
मेरो नाम जीवन कुमार दाहाल, घर  ताप्लेजुङ।
मेरो बुवा र हजुरको बुवासँगै काम गर्नुहुन्थ्यो। एकदिन घर आएको बेला मसँग भेट भयो।
बुवाले मलाई चिनाउनुभयो- मेरो छोरो २५ वर्षको भयो। एउटा आँखा जन्मजात देख्दैन। कक्षामा हुँदा उसको  साथीले जिस्कँदा जिस्कँदै हानेछ अर्को आँखामा। त्यसपछि दुबै आँखा देख्दैन। धेरै डाक्टरलाई देखाएपछि आँखा दान गर्ने भेटियो भने उसले आँखा देख्न सक्छ भन्या छ। तर हाम्रो दुर्भाग्य त्यस्तो कोही भेटिएको छैन।
हजुरको बुवाले अाफूलाई क्यान्सर भएको र आफ्नो दिन थोरै भएको कुरा सुनाउँदै 'मेरो आँखाले बाबु तिमी संसार हेर मेरो आँखा तिमी आफ्नो कर्म गरेर खाउ' भन्नुभयो।
त्यसको ३ महिनापछि उहाँको निधन भयो। मैले आँखा  पाएँ।
यति भनिसकेर उनले आफ्नो चस्मा आँखाबाट फुकालेर मलाई उनका आँखा देखाए।
ती तिनै आँखा थिए, जसलाई परिचित लाग्दा लाग्दै पनि केही महिना अगाडि म बोल्न डराएकी थिएँ। बल्ल थाहा पाए पटरपटर गर्ने मेरो मुख किन ती आँखादेखि डराएका रहेछन्। किनभने म बाबाको अगाडि बोल्न डराउँथें।
ती आँखाको नानी थिए जोसँग मेरो जन्मदेखिको नाता  थियो। अनि ती तिनै आँखा थिए जसको ईशारा म आफ्नो होमवर्क गर्थें।  ती तिनै आँखा जोसँग मेरो लामो इतिहास जोडिएको थियो हो। ती मेरा बुवाको आँखाको नानी थिए जसलाई मैले भीड पनि महशुस गरेको थिएँ आफ्नो हो भन्ने ठानेकी थिएँ।
आज बुवाको तिथि उहाँको भौतिक शरीर नभए पनि उहाँको आँखाको दर्शन गरें। अनि मैले उहाँले दिनुभएको आदर्शलाई सम्झिएँ।
बाहुनले पैसा लिएन। सायद उ पनि आफ्नो ऋण तिर्न चाहिन्थ्यो। मैले पनि गर्व गरे आफ्नै बुवाको  दानले कसैले यो संसार हेर्न पाएको छ र खुशी छ।
सेतो पाटिमा प्रकासित
:

प्रकाशित मिति: शनिबार, चैत्र १३, २०७२ १५:०१:०४

http://archive.setopati.com/sahityapati/43936/