Tuesday, August 24, 2021

कुरा बुझ्न पर्चा (ड्राफ्ट भर्सन )

 विपद् जोखिम न्यूनीकरण सद्धभावना दूत भर्खरै बनेका प्रकाश सपुत बिभिन्न सन्देशमुलुक गीत मार्फत जनताको माझमा छाइरहेका छन्  केहि महिना अगाडी उनको नेपाली समाजलाई चित्रण गरेर बनाइएको मेरो पनि देश हैन र’ भन्ने गीत निक्कै चर्चामा आयो हालसालै निस्किएको ‘कुरा बुझ्नुपर्छ’ भन्ने गीतले सामाजिक संजालमा निकैनै पोजेटिब फिडब्याक बटुल्न सफल भएको छ  नेपाली समाजमा रहेको  वर्ग र बिबाहको अन्तरसम्बन्ध बाट शुरु भएको गीतले महिला सशक्तीकरण, समान अधिकार जस्ता बिषय जोड्दै अन्तर्जातीय मित्रतामा गीत सकिन्छ यो गीत आफैमा सिंगो नेपाली समाजलाई चित्रण गर्दै समस्याको हल सहित बनेको छ    यधपी थोरै विश्लेषण र सिदान्तलाई यो लेखले समट्ने छ

 

गीतको सुरवातनै बिबाह संस्था र बर्ग सम्बन्ध बाट शुरु हुन्छ छोरीको बिबाहको लागि आज पनि नेपाली समाज, अनिबार्य रुपमा, बुवा आमाको कर्तब्य ठान्दछ पढे लेखेको र सक्षम छोरी भए पनि बिबाहकोको लागि उच वर्ग हेर्ने गरिन्छ वर्गको कुरा गर्दा एकचोटी फेरी २०० वर्ष पछाडी फर्केर काल मार्क्सलाई बुझ्नुपर्ने हुन्छ २०० बर्षको सम्रचंतामक परिबर्तनलाइ एकातिर राख्दै मार्क्सले भनेको कुरा मात्र एकछिनको लागि विचार गर्ने हो भने समाजमा सामाजिक प्रतिष्ठा पद र महत्वको आधार नै सम्पतिलाई मान्ने गरिन्छ जो संग प्रसस्त चल तथा अचल सम्पति रहेको हुन्छ उ समाजको नजरमा राम्रो मान्निछ आर्थिक हैसियतले समाजको अरु सुपरइस्टरक्चर लाई निर्धारित गर्ने मार्क्सको विचारधाराबाट नेपाली समाज अछुतो छैन अर्थात, आजको मिति सम्म पनि आफ्नो रोजाईमा केटीले केटा छाने पनि कुल घरान कस्तो छ ? धन सम्पति कति छ भन्ने प्रश्नको सामना हरेक घरको छोरीले एक न एकचोटी  गर्नेपर्ने हुन्छ यो कुराले आर्थिक संस्थाले बिबाह संस्थालाई प्रतक्ष्य असर गरेको देखिन्छ फेरी मार्क्सकै कुराले आधार मान्दै भन्ने हो भने कुन केटीले समाजमा आफ्नो जिबनसाथी रोज्ने हैसियत राख्छिन त?  उत्तर हुन्छ जो आर्थिक रुपमा सबल छिन्, जसको निरन्तर आय छ

 

लगतै, सामाजिक परिवर्तनको अंशहरुलाई सपुतले राम्रो संग विश्लेषण गर्न छुटाएका छैनन धन सम्पति भन्दा पनि माया गर्ने जिबनसाथी हुनु पर्दछ  “धनसम्पति हर्ने हैन, हेर्ने हैन पी.आर, बुडो उठोस् चिया पकयोस भनोस उठ डियर” यो  भनाईले परम्परागत सोचाई ‘वर्ग’ मात्र सबथोक हो भन्ने भनाईले नकार्दछ समाजमा हुने मुठभेड, दुन्दलाइ एउटा घरकी किचेन गफले पुरै समाजलाइ प्रतिनिधित्य गर्दछ परिबर्तनको कुरा गर्दा आर्थिक बिकास, समाजिक वा पुरै संरचनामै आएको परिबर्तनको कुरा गर्नुपर्ने हुन्छ आर्थिक बिकासमा डब्लु डब्लु रोस्टोले पांच वोटा स्टेजको कुरा गरेका छन त्यसैलाई आधार मान्ने हो भने ‘टेक अफ’ को स्टेजमा पुगेको नेपाल, संगै संगै सामाजिक बिकास पनि त्यही कतै हो कि  भनेर अनुमान लगाउन सकिन्छ यधपी ठयाकै ठोकुवा गरेर भन्न चै सकिन्न समाजशास्त्री डेबिड लर्नरलेचै आधुनिकतालाई एक सामजिक परिवर्तन मानेका छन्  जस्मा कम बिकसित देशहरुले बिकसित देशको विशेषताहरुलाई अपनाइएको हुन्छन सामाजिक बिकासमा लर्नरले भने झैँ नेपालपनि आधुनिकीकरण बाट गुज्रिदै अगाडी बढेको कुरालाई नकार्न भने सकिन्न अर्थात् परम्परागत रीतिहरु लाई बेवास्ता गर्दछ बिकसित देशको चलन राम्रो  हो भन्दै आधुनिक विचारधारा पस्किनु लाई मान्न सकिन्छ उदहारणको लागि  बिबाहको निर्यणमा  स्वं को बडी हक हुन्, जन्मजात पाएको पद भन्दा आर्जित पदले प्राथामिकता पाउदै जानु लाई मान्न सकिन्छ  

 

‘दुई जनले जागिर खाने टक्क १० टु  ५, बिहान बेलुका घरमा संगै आनन्दको लाइफ ‘ यी भनाईले दुवै जना श्रीमान श्रीमती सक्षम हुदा घर चल्न सहज हुने कुरालाई जोड दिएको छ प्रसिद् अर्थशास्त्री अमात्य सेनका ‘क्यापबिलिटी एप्रोच’  अनुसार सामथ्य, क्षमतामा अभिबृद्दी गर्न सकेमा मानब बिकास हुन्छ   लैंगिक समानतामा महिलाको क्षमता अभिबृद्दीले ठुलो भूमिका खेल्दछ दुवै जना सक्षम हुदा घर मात्र नभएर समाजनै सक्षम बन्ने कुरा लाइ गीतले पस्किन खोजेको देखिन्छ यसै गरेर जाड रक्सि सेवन लाई फुर्सदको समयको प्रतिक मानेर प्रस्तुत गरेको छ फुर्सदको समय पुरूष  एक्लै रमाउने हैन जिबनसाथी लाई पनि समाबेश गराउने र आर्थिक सहयोगमा पनि महिलाको योगदान हुनुपर्ने कुराले समानतालाई निकै जोड दिएको छ

 

 

‘हाम्रो जिबन, हाम्रो विचार हाम्रै हुन्छ  राइट’ यी शब्दहरु आफैमा बोल्ड भए पनि आफ्नो अधिकार पाउन स्वं लड्नुपर्ने हुन्छ भनेर गीतले प्रस्तुत गरेको छ महिला अधिकार नेपालको संबिधानमा सुरक्षित भए पनि नलडी नपाइने भएकोले महिला सशक्तीकरणलाई प्रोत्साहन गर्दछ   साथ साथै बिबाह गर्दैमा जिबन सुखी हुन्छ र बिबाह गर्ने पर्छ भन्ने नेपाली समाजको परम्परालाई चुनौती दिएको छ सम्बन्ध सुधार गर्ने नाममा घरायसी हिंसा सहेर बस्नु हुदैन भन्ने अर्थ पनि गीतले उजागर गरेको छ “सिंगल लाइफ रक छ “ भन्ने भनाईमा अबिबाहित रहदा महिलाले सहनु पर्ने सामाजिक ब्याख्या लाई आलोचना गर्दछ अबिबाहित रहनु बाध्यता नभएर रोजाई पनि हुनु पर्छ भन्ने कुराको वकालत गर्दछ

 

गीतको अन्तिम भागमा  बिश्वकर्मा र क्षेत्री बीचको मित्रतालाई दर्शाई जातीय विभेदलाई निरुत्साहित गर्दछ समाज  परिबर्तन र बिकाशको लागि जातीय विभेद अन्त्य हुन् जरुरि छ फ्रेन्च एन्थ्रोपोलोजिस्ट, लुइस डुमोले भारतमा गरेको अनुसन्धानमा जात लाई समाजले  शुद्द अशुद्ध संग राखेर हेर्ने गरेको भनेको छ नेपाली समाजमा पनि शुद्द अशुद्ध बाट टाडा रहेको भने पक्कै हैन धेरै उदारणहरुको प्रत्यक्षदर्सी हामीनै हौ बिश्वकर्मा संगै बसेको, चिया खाएको मित्रता राखेको दृश्यले ‘अशुद्ध’ लाई गीतमा हटाउन सफल भएको छ  

 

महिला सशक्तीकरणको लागि पेशाले खल्ने भूमिकालाई राम्रो संग दर्साएको छ मनमाया क्षेत्री ( पात्र) आर्मीको सेकेन्ड लेफ्टिनेन्ट  पेशा रोज्नुले पुरूषको मात्र पेवा र फुलमाया बिश्वकर्माले डाक्टर पेशा रोज्नले यी पेशा हरु  भनेबितिकै पुरूष पात्र आउने दिमागी फोटोलाई मेटाउन खोजिएको छ लैंगिक समानताको लागि महत्वपूर्ण कदम भनेको पेशा प्रतिको एकल अधिकार हटाउनु पनि  हो अर्को अर्थमा भन्ने हो भने नेपाली समाजमा केहि पेशा बाध्यकारी र   केही रहरमा सिमित रहेको छ जस्तो को रिसेप्सनिस्ट , नर्स, मंन्टेसोरी र  टिचरमा महिलाको बाध्यकरी प्रवेश र आर्मी, इन्जिनियर डाक्टर पाईलाट पेशा रहर र वर्ग केन्द्रित रहेको पेशा बनेको छ सबै खाले पेशामा महिला पुरूषको समान समाबेशीता हुन् पनि जरुरी देखिन्छ महिलाको पर्याबाची धेरै वर्ष भान्छा बन्यो  (जुन बाध्यकारी हो ) अब अरु हुन् नदिन पुरुषको समाबेशी मंन्टेसोरी  लगायत नर्समा पनि देखिनु पर्यो

 

अन्त्यमा, यो गीत सही तरिका बाट देखाउन खोज्दा खोज्दै केही कुरामा चुकेको हो कि भन्ने दर्शकलाई लाग्न सक्छ  कहिले कहिँ चन्द्रमाको उज्यालोले आफ्नै दाग छोपेको हो कि   भन्ने पनि भान हुन् सक्छ महिला भन्ने बितिकै भान्छामा, धारामा हुन्छिन भन्ने भनाईलाई यो गीतले तोड्न सकेको छैन पात्र मनमाया साथी  फुलमाया लाई खोज्दै धारामा किन पुगिन? धारामा नगएर बन्चरो लिएर दाउरा चिर्दै गरेको ठाउँमा गएको भए पनि हुन्थियो बिबाहको कुरामा जिबनसाथी रोज्ने हक छोरिको हो  भन्न किन सकिनन? पढे लेखेकि छे उसले जिबनसाथी रोज्न सक्छे भन्ने बिश्वास, नेपाली समाजको आफ्नो छोरि प्रति नभएको गीत मार्फत बुझ्न सकिन्छ अझै केही पुस्ताका छोरिहरू बिबाहका लागी उनको आमा बुवाले गरेको  निर्णयमानै आश्रित रहनु पर्ने यही गीत मार्फत नै बुझिन्छ

 

गीत संगीत समाजको सस्कार, यथार्थ र परिस्थिति  बोकेको  आफैमा एउटा संदेश हो  जसलाई लिएर मानिसहरुले समाज प्रति एउटा आकृति बनाउछन हामीले आफ्नो फोटो हेरेर हामी आफैलाई विस्लेषण गरे झैँ  हामी आफ्नै समाजलाई  यस्तै गीत संगीत सिनेमा, किताब बाट पाएका संदेश हरु बाट समाज पढछौ तसर्थ यी  क्षेत्रले सकरत्मक संदेश पस्किन सके समानता, सशक्तीकरणमा ठुलो टेवा पुग्दछ गीत संगीतमा आएका बिकृति छिटै भनिहाल्ने हामी, कलाकार पेटको देखि क्लिभेजको कुरा गर्न पछाडी नपर्ने हामी सकरत्मक संदेश बोकेको गीतलाई प्रोत्साहन गर्न पछाडी नपरौ  


namita.dlb@gmail.com

जातको जरो अब उखाल्नु पर्यो नमिता पौडेल २० असार आइतबार, २०७८ | १०:१५:०० मा प्रकाशित

 नमिता पौडेल २० असार आइतबार, २०७८ | १०:१५:०० मा प्रकाशित

Link: https://www.gaunsahar.com/news-details/41024/2021-07-04?fbclid=IwAR3qS1WiMWjXwOAYvnyuPlfikL3kJM3VQYv8t0TuanPcGAUe58HkIm8DtxA

बिरालोकाे मासु खाउ ल आज ? 
छ्या के भनेको के ? बरु भोकै मर्छु तर खान्न !

किन ? अरु खसी बोका भेडा घर पालुवा त खान्छौ त, त्यसोभए भए कुकुरको खाउ न त ! भारतको नागाल्याण्ड प्रसिद्ध छ कुकुरको मासु, त्यसैगरी चीनको केहि प्रान्तमा, विशेष गरेर जाडो समयमा बिरालोको मासु खाने गरिन्छ त ? 

भने नि म बरु मर्छु तर खान्न !!

यो एउटा बार्तालाप मैले मेरो श्रीमानसंग गरेको हुँ ।
यो उदारणको सन्दर्भ यहि लेखमा पछि जोड्ने छु । 

म एउटा उपाध्याय बाहुनको छोरी,  मेरो मावली पनि उपाध्याय बाहुन हुन् । म सानोमा मामाघर बस्थेँ । मलाई यसरी हुर्काइएको थियो कि यदि मैले कामी, दमाई, सार्कीसंग विवाहको कुरा त पर जाओस् कल्पना समेत गर्ने अनुमति थिएन । हाम्रो घरमा काम गर्न आउने जति पनि तल्लो जातीको दिदीहरु हुनुहुन्थ्यो । उहाँहरुले खाएर बाहिर धोएर राखेको थाल पनि नछोनछो भन्नु हुन्थ्यो । हामीलाई हाम्रै उमेरको तल्लो जातिहरुको साथईलाइ “तँ” साइनो लगाएर बोलाऊन लगाइन्थ्यो भने उनीहरुले चै हामीलाई तिमी र तपाईं सम्बोधन गर्थे । आजको मितिमा पनि मेरो हजुरआमाले तल्लो जातिसंगको सम्बन्ध परिवारभित्र कसैले गरे स्वीकार गर्नु हुन्न । अझ मलाई के पनि भनिएको थियो भने, तिमी हाम्रो परिवारको जेठी छोरी हो, यदि तिमीले बुद्दी बिग्रेमा भाई बैनीहरु पनि त्यहि बाटोमा लाग्छन् त्यसकारण जैसी पनि माग्न आए, म दिन्न भन्नु हुन्थ्यो । मलाई कुनै केटा मन परिहाले पहिले उसको थर के होला भनेर दिमाग आफैँ जान्थ्याे । यदि बाहुन हैन रहेछ भने म साथी पनि बनाउन डराउँथेँ किनकी आफ्नो परिवार त्याग्न कसलाई पो मन हुन्छ र ! 

मैले बाहुनसंगै विवाह गरेर, पढेर, आज समाजशास्त्रमा एमफिल गरिसकेपछि मात्र यति लेख्ने र बोल्ने आँट गर्दै छु । नत्र चलिआएको चलन बिगार्ने खोज्ने तँ को होस्, तलाईं कुलङ्गार्नी (कुल बिगार्ने) यस्ता प्रश्नहरुको सामना गर्नु नपर्ने बाहुनका छोरी आज पनि बिरलै होलान् । उनीहरु पनि म जस्तै परिवार त्याग्नु पर्छ भनेर सायद जिवनसाथी रोज्नु अगाडि थर सोध्छन् होला, या सम्बन्धमा परिसकेपछि पनि परिवार गुमाउने डरले धोका दिन्छन् होला । यो जातको रुख आज रोपिएको हैन र मलाई जसले सिकायो उसलाई पनि यसैगरी उसका अघिल्लो पुस्ताले सिकायो । र यो सिकाउँदा र गर्दा समाजको सत्यनै यहि बन्यो ।

अब म बिरालोलाई यहाँ जोड्न चाहेँ । खसी, बोका, कुखुरा जस्तै बिरालो पनि एउटा घर पालुवा जनवार हो । कुकुर पनि एउटा घर पालुवा जनवार हो । तर हामी किन खाँदैनौँ, या घिनाउँछौ भन्दा हामीलाई खुवाएको छैन, वा हामीलाई सिकाएको छैन । त्यही भएर मैले मेरो श्रीमानलाई बिरालोको मासु भन्ने बितिकै छ्या जोडियो । त्यस्तै घरबेटीलाई कामी भन्ने बितिकै छ्या जोडियो होला यद्दपी उहाँले भेदभाव गरेको कुरा स्वीकार्नु भएको छैन । तर स्वं म ब्राहमणको छोरी भएर घरमा भोगेको आधारमा भन्दै छु उहाँहरुलाई त्यस्तो लाग्नु स्वाभाभिक हो । किनभने उहाँहरुलाई यो कुरा बुझाईएको छैन अर्थात सिकाएको छैन । जे गरी आयो त्यसैलाई निरन्तरता दिनु उहाँहरु धर्म मान्नु हुन्छ । माफ गर्नुहोला मैले बिरालोको मासु खानुलाई जातीय समानतासंग जोडेको हैन । कुरालाई प्रष्ट पार्न उदाहरण मात्र दिएको हुँ ।

कानुनका कुरा

अब रह्यो कानुनको कुरा, हो कानुनमा कुनै पनि विभेद गरेमा सजायको भागिदार हुनेपर्नेछ भनेर लेखिएको छ तर यहाँ ‘म चोर’ भनेर कसैले आफैँ भन्दै जान्छ ? गइहाले पनि न्यायलयका प्रमुखहरु पनि यही सामाजिक संरचना भित्रकै हुन् त्यसकारण घरबेटीलाई खोइ त कानुन नेपालको कानुन लाग्यो त ? यसो एकदिन लगेर हामीले दलितमाथि विभेद गर्ने लाई सजाय दिएको छौँ है भनेर भोलिपल्ट छोडी दिएपछि खोइ त कानुन ? फेरी कानुन छ भन्दैमा कानुन सबै मानिएको छ र ? कानुनमा त महिला हिंसा गर्नेलाई पनि दण्ड छ तर हरेक घरको महिला हिंसा दण्डित छ त ? नवराज बिक, अजित मिसार र अरु धेरै घटनाहरुलाई कानुनले कानुनमा लेखे बमोजिन न्याय गरेको छ त ? 

म जसरी नै लेख्ने, बोल्ने, सामाजिक संजालमा समानताका कुरा गर्ने कति प्रतिशत गैर दलितले दलितसंग झ्याईंझ्याईं बिहा गर्नु भएको छ ? कति प्रतिशतले घर भाडामा दिँदा थर सोध्नु हुन्न ? मेरो फेसबुकमा आएका धेरै भन्दै धेरै पोस्ट गैर दलितको छ, विभेद गर्नु हुँदैन, सजाय हुनु पर्छ भनेर । सबैलाई मेरो प्रश्न के तपाई दलितको छोरी वा छोरासंग विवाह गर्न तयार हुनहुन्छ ?  विवाह भइसकेको हरु त झन् ढुक्कले कुरा गर्नुहुन्छ म जस्तै । कुरा गर्नु र व्यवहारमा उतार्नु फरक कुरा हो । कुरा त हामी सबै ठुलै गरिदिन्छौँ तर जब गर्ने पालो आउँछ नि बिरालो जस्तै बनिदिन्छ ।

हो आज जात पनि यस्तै भएको छ । कानुनमा छ, किताबमा छ, दिमागमा पनि छ अनि मनमा पनि तर व्यवहारमा ? छैन । किन छैन हामीले इन्टरनलाईज गर्न सकेको छैन । नगर भन्नु भन्दा पनि आफैँले बुझेर नगर्नु पर्ने समाज बनाउन नै समानताको ढोका खोल्नु हो ।

कसरी हटाउन सकिन्छ त यो जात व्यवस्था ?

म हरेक दिन इन्टरनलाईज गर्ने कोसिस गरेर आजको मितिमा समानताको बारेमा बोल्न सकेको हुँ । बाल्यकालमा थोपरिएको त्यो जात प्रतिको ढिस्को भत्काउन, मलाई यो समाज बुझ्न, मलाई मेरो परिवारले सहयोग गरेको छैन । मेरो समाजले पनि गरेको छैन । मैले लिएको शिक्षाले पनि गरेको छैन किनभने पटक पटक ४ जात भनेर पढाउँदा मेरो दिमागमा, ‘ए म त माथिलो जाति पो रहेछु भनेर फिल भइराखेको हुन्थ्यो’ भने म जस्तै ‘ए म तल्लो जातिको रहेछु भनेर फिल हुन्थ्यो होला’ । एक खालको सुपेरिर्यिटी स्कुल पढ्दानै परिवार र किताबी ज्ञानबाट आइसकेको हुन्छ । तसर्थ किताबी ज्ञानमा ४ जात हटाई अर्थात् किन तल्लो कुन माथिल्लो नभनिकन, जातकै आधारमा कुनै पनि विभेद गर्न पाइँदैन भनेर शिक्षा दिन जरुरी छ ।

समाज बुझ्ने विषयलाई सधैँ प्रोत्साहन गर्न पनि आवश्यक छ । म आफैँ एउटा लेक्चरर, मास्टर इन सोसोलोजीलाई येही कुरा भन्दा उनीहरुले बुझे जस्तो गर्छन् तर इन्जिनियर, कम्पुटर अप्लिकेसन, व्यस्थापन जस्ता विधार्थीलाई पढाउँदा सधैँ येही कोटाको कुरा निस्किन्छ । “म्याम मिहिनत गरेर पढयो, के गर्नु आफू बाहुन परियो कोटामा परिएन ।” कोटाप्रति एक खालको आक्रोस अझै पनि यही समाजको किताबी ज्ञान पढेर आउने भाई बैनीहरुमा देखिन्छ तसर्थ कहिले हुन्छ त यो संरचनामै परिवर्तन ? कोटा सिस्टमको अर्थ बुझाउन अझै पनि हामी अभिभावक, गुरु र समाज नै पछि परेको छौँ कि भने भाब भएको छ मलाई । तसर्थ हामी मानव एक हौँ, जाति आधारमा, लिङ्गको आधारमा, वर्गको आधारमा, क्षेत्रकाे आधारमा कुनै पनि विभेद गरिनु हुँदैन भनेर सचेतना व्यापक रुपमा गरिनु पर्छ । कानुनमा सजाय भन्दा पुरस्कारको व्यस्था हुन् जरुरी छ । कानुनमा हरेक विभेद हटिसकेको छ तर आम समाजमा परिवार्तन गर्न अझ धेरै सचेतनाको व्यवहारिक कार्य गर्न जरुरी छ ।

लेखिका सरस्वति बहुमुखी क्याम्पस, ठमेलमा प्राध्यापन गर्छिन् ।

‘कुरा बुझ्न पर्च’

कान्तिपुर मा प्रकाशित : 8/24/2021

Link : https://ekantipur.com/opinion/2021/08/24/162976957631637276.html?fbclid=IwAR3kFfpZnU4hvniW1ctuEY1qHzNyEZAcSwrbpTKzeNcOhD5Jk7IZ1gxB7MU



पछिल्लो समय गायक प्रकाश सपूतले सामाजिक विषयवस्तुलाई गीतमा समेटिरहेका छन् । हालै आएको उनको ‘कुरा बुझ्न पर्च’ गीतले सामाजिक सञ्जालमा निकै राम्रो प्रतिक्रिया बटुलिरहेको छ ।

गीतमा नेपाली समाजको वर्ग र विवाहको अन्तरसम्बन्ध तथा महिला सशक्तीकरणको विषय समेटिएको छ । समाजमा भइरहेको बहसलाई सबैले बुझ्ने भाषामा प्रस्तुत गर्न गीत सफल भएको छ ।गीतको सुरआतै विवाह संस्था र वर्ग सम्बन्धबाट हुन्छ । अझै पनि नेपाली समाज, छोरीको विवाह गरिदिनु आमाबुबाको अनिवार्य काम ठानिन्छ । पढे–लेखेको र सक्षम छोरी भए पनि विवाहका लागि उच्च वर्ग नै हेर्ने गरिन्छ । कार्ल मार्क्सले उहिल्यै भनेका थिए— सामाजिक प्रतिष्ठा, पद र महत्त्वको आधार नै सम्पत्तिलाई मान्ने गरिन्छ । जोसँग प्रशस्त चल तथा अचल सम्पत्ति हुन्छ ऊ समाजको नजरमा राम्रो मानिन्छ । आर्थिक हैसियतले समाजको अरू ‘सुपर स्ट्रक्चर’ लाई निर्धारित गर्ने कार्ल मार्क्सको विचारधारा नेपाली समाजमा अझै सान्दर्भिक छ । अझै पनि आफ्नो रोजाइमा जीवनसाथी छाने पनि, कुल घरान कस्तो छ, धनसम्पत्ति कति छ जस्ता प्रश्नको सामना हरेक छोरीले गर्नैपर्छ । आर्थिक संस्थाले विवाह संस्थालाई प्रत्यक्ष असर गरिरहेको छ । सपूतले यो पक्षलाई राम्रोसँग गीतमा ल्याएका छन् ।

गीतको ‘धनसम्पत्ति हेर्ने हैन, हेर्ने हैन पीआर, बूढो उठोस् चिया पकाओस् भनोस् उठ डियर’ पंक्तिले परम्परागत सोचाइलाई चुनौती दिन्छ । त्यस्तै ‘दुई जनाले जागिर खाने टक्क टेन टु फाइभ, बिहान–बेलुका घरमा सँगै आनन्दको लाइफ’ पंक्तिले श्रीमान्–श्रीमती सक्षम हुँदा घर चल्न सहज हुने पक्षलाई जोड दिएको छ । प्रसिद्ध अर्थशास्त्री अमर्त्य सेनका अनुसार सामर्थ्य, क्षमतामा अभिवृद्धि गर्न सकेमा मानव विकास हुन्छ । लैंगिक समानतामा महिलाको क्षमता अभिवृद्धिले ठूलो भूमिका खेल्छ । दुवै जना सक्षम हुँदा घर मात्र नभएर समाज नै सक्षम बन्ने सन्देश गीतले दिएको छ । अनि जाँड–रक्सी पुरुष एक्लैले खाने होइन, जीवनसाथीलाई पनि खुवाउनुपर्छ भन्छ गीतले । परिवारको अर्थतन्त्रमा पनि महिलाको योगदान हुनुपर्छ भन्ने विषय उठाएर लैंगिक समानताको वकालत गर्न खोजेका छन्, सपूतले ।

महिला अधिकार संविधानले सुरक्षित गरे पनि नलडी नपाइने भएकाले महिला सशक्तीकरणलाई प्रोत्साहन गर्नुपर्छ । ‘हाम्रो जीवन, हाम्रो विचार हाम्रै हुन्छ राइट’ निकै ‘बोल्ड’ सन्देश हो । आफ्नो अधिकारका लागि लड्नुपर्ने कुरालाई पनि यसले इंगित गर्छ । साथै विवाह गर्दैमा ‘जीवन सुखी हुन्छ’ र ‘विवाह गर्नैपर्छ’ भन्ने नेपाली समाजको मान्यतालाई गीतले भत्काउन खोजेको छ । त्यस्तै अविवाहित रहनु बाध्यता नभएर रोजाइ पनि हुनुपर्छ भन्ने वकालत पनि गर्छ । महिलाले सम्बन्ध सुधार गर्ने नाममा घरायसी हिंसा सहेर बसिरहनुपर्ने बाध्यतालाई गीतमा देखाइएको छ 

गीतको अन्तिम भागमा विश्वकर्मा र क्षत्रीबीचको मित्रता देखाएर जातीय विभेदलाई निरुत्साहित गर्न खोजिएको छ । समाज परिवर्तनका लागि जातीय विभेदको अन्त्य जरुरी छ । फ्रान्सका मानवशास्त्री लुई डुमोन्टेले भारतमा गरेको अनुसन्धानका आधारमा, जातलाई भारतीय समाजले शुद्ध–अशुद्धको अवधारणामा राखेर हेर्छ भनेका छन् । नेपाली समाजमा पनि उनको अनुसन्धानको निचोड मिल्छ । विश्वकर्मा–क्षत्रीको मित्रता देखाएर यस अवधारणालाई हटाउनुपर्छ भन्छ, गीतले ।

महिला सशक्तीकरणमा पेसाको भूमिका निकै महत्त्वपूर्ण हुन्छ । गीतकी पात्र मनमाया क्षत्रीले आर्मी पेसा रोज्नुले यो क्षेत्र पुरुषको मात्र पेवा होइन भन्ने बताउँछ । त्यस्तै अर्की पात्र फूलमाया विश्वकर्माले डाक्टर बन्छु भन्नुले यो भन्नेबित्तिकै दिमागमा पुरुषको मात्र चित्र आउने हाम्रो यथार्थलाई मेटाउन खोजेको छ । लैंगिक समानताका लागि महत्त्वपूर्ण कदम पेसाप्रतिको एकल अधिकार हटाउनु पनि हो । नेपाली समाजमा केही पेसा बाध्यकारी र केही रहरमा सीमित छ । सबैखाले पेसामा महिला–पुरुषको समान समावेशिता हुनु जरुरी छ । महिलाको पर्यायवाची पेसा सधैं भान्सा बन्यो (जुन बाध्यकारी हो), पुरुषहरू पनि नर्स भएको हेर्न चाहन्छ समाज ।

गीतले सामाजलाई बाटो देखाउन खोजे पनि केही कुरामा चुकेको छ, जस्तो— महिला भन्नेबित्तिकै भान्सामा, धारामा हुन्छिन् भन्ने आममान्यतालाई यसले तोड्न सकेको छैन । मनमाया फूलमायालाई खोज्दै धारामा किन पुगिन् ? धारामा नगएर बन्चरो लिएर दाउरा चिर्दै गरेको ठाउँमा गएको भए पनि हुन्थ्यो । त्यस्तै गीतले ‘पढे–लेखेकी छोरीले, जीवनसाथी आफैं रोज्छे’ भन्ने खालको सन्देश दिएको भए राम्रो हुन्थ्यो ।

गीत–संगीतले समाजको यथार्थ प्रस्तुत गर्नु आफैंमा एउटा सशक्त सन्देश हो, जुन पछिल्लो समय हाम्रा सृजनाहरूमा पाइन्न । गीतले समाजको ठूलो हिस्सालाई प्रभाव पार्छ, सिकाउँछ । यस अर्थमा सपूतको यो गीतले दिन खोजेको सन्देश समाज परिवर्तनका लागि सहायक हुन सक्छ । समाजको पुरानै मान्यतालाई मलजल गर्ने सन्देश बोकेका गीतहरूमाझ यस्तो गीत निकै दुर्लभ भइरहेको छ ।



Saturday, May 22, 2021

अझ सान्दर्भिक हुँदै संस्कृत

 Link : https://ekantipur.com/opinion/2021/05/20/162147596099678469.html?fbclid=IwAR027EV--5n0ZRFxdywHbcuDy9CIBKbH2VwhAkDK3EULsmy6KwWx84OQHUk

This Article is Published in  Kantipur daily 

काकचेष्टा, बको ध्यानं,
स्वाननिद्रा तथैव च ।
अल्पाहारी, गृहत्यागी,
विद्यार्थी पञ्चलक्षणम् ।।

कुनै पनि विद्यार्थीमा उपर्युक्त पाँचवटा लक्षण हुनुपर्छ भनिन्थ्यो, सानामा हामीलाई । अर्थात्, कागको जस्तो जान्ने कोसिस, बकुल्लाको जस्तो ध्यान, कुकुरको जस्तो निद्रा, आवश्यकताअनुसार थोरै खाना र ज्ञानार्जनका लागि घरको त्याग । मलाई लाग्छ, चार कक्षादेखि अनिवार्य रहेको संस्कृत पाठ्यक्रमले हामीलाई आफ्नो परम्परा र संस्कृति बुझ्न धेरै सहयोग गरेको थियो । केही वर्षयता भने पाठ्यक्रममा परिवर्तनसँगै संस्कृत भाषाको पहिचान धरमर हुँदै गएको छ । खाना खानुअगाडिको भन्नुपर्ने मन्त्र ‘हरिर्दाता हरिर्भोक्ता हरिरन्नं प्रजापतिः / हरिः सर्वशरीरस्थो भुङ्क्ते भोजयते हरिः’ आज परिवर्तन भएर ‘ओह गड, थ्यांकयु फर द फुड’ भएको छ ।



बाँकी विश्वले, विशेषतः पश्चिमले भने संस्कृत भाषाको महत्तालाई धेरै समयअघिदेखि नै बुझ्दै आइरहेको छ । युरोप–अमेरिकाका अनेक विद्यालय र विश्वविद्यालयहरूमा संस्कृत पढाउने गरिन्छ । कम्प्युटरको आम प्रचलन सुरु भएसँगै यो भाषाको उपादेयता अझ सिद्ध हुँदै आएको छ । त्यो पनि सम्बद्ध वैज्ञानिकहरूकै प्रचारका कारण । ‘द एआई म्यागजिन’ मा सन् १९८५ मा प्रकाशित ‘संस्कृत एन्ड आर्टिफिसियल इन्टेलिजेन्स–नासा : नलेज रिप्रिजेन्टेसन इन संस्कृत एन्ड आर्टिफिसियल इन्टेलिजेन्स’ शीर्षक लेखमा नासाका वैज्ञानिक रिक ब्रिग्सले अंग्रेजीमा झैं लेखिने एक थरी र बोलिने अर्को थरी (जस्तो– लेख्दा ‘डीओ’ तर बोल्दा ‘डु’; लेख्दा ‘जीओ’ तर बोल्दा ‘गो’) नभई जे लेखिन्छ त्यही बोलिने (जस्तो— बाल पठति) भएकाले कम्प्युटर प्रोग्रामिङका लागि अंग्रेजीसहित अन्य भाषाभन्दा संस्कृत बढी प्रभावकारी हुने उल्लेख गरेका छन् । अंग्रेजीको साटो संस्कृतलाई कम्प्युटरमा सेट गर्दा (अल्गोरिदममा संस्कृत प्रयोग गर्दा) निकै सजिलो हुने उनको विश्लेषण छ ।

संस्कृतमा भएजति शब्दहरू अरू भाषामा भेट्न सकिँदैन । वर्तमान समयमा संस्कृतमा १०२ अर्ब ७८ करोड ५० लाख शब्द छन् । पर्यायवाची शब्दहरूको अथाह भण्डार छ । त्यही भएर अमेरिकाले छैटौं–सातौं पुस्ताका सुपर कम्प्युटरलाई संस्कृतमा आधारित बनाउने भएको छ (‘नाइन लेसर नोन फ्याक्ट्स अबाउट संस्कृत,’ इन्डियन एक्सप्रेस, २५ अगस्ट २०१८) ।

न्युरो साइन्टिस्ट जेम्स हार्टजेलका अनुसार, कठिन शब्द बोल्दा जिब्रोको प्रशस्त व्यायाम हुने भएकाले संस्कृत बोल्दा दिमागका सबै मांसपेशीको अभ्यास हुन्छ (‘अ न्युरो साइन्टिस्ट एक्सप्लोर्स द संस्कृत इफेक्ट’, साइन्टिफिक अमेरिकन, २ जनवरी २०१८) । सायद यही कारण, संस्कृत पढ्ने प्रायः विद्यार्थीहरूको बुद्धि अरू भाषाका विद्यार्थीको भन्दा दुई–तीन गुणा बढी हुने उनले उल्लेख गरेका छन् । यसका लागि उनले संस्कृतका एक्काइस विद्यार्थी र अरू भाषाका विद्यार्थीहरूबीच तुलनात्मक अध्ययन गरेका थिए ।



संस्कृत भाषाको महिमा विश्वले गम्भीरतापूर्वक बुझिरहेका बेला नेपालमा भने अझ मन्टेसोरीदेखि नै अंग्रेजी मात्र होइन, चिनियाँ र जापानी भाषा पनि पढाइन्छ भनेर हामी दंग पर्छौं । विद्यालयहरूमा विद्यार्थीले अंग्रेजीको साटो नेपाली बोले भने दण्डित गर्ने गरिन्छ । संसारले महत्त्व बुझेको भाषा संस्कृत हामीचाहिँ भावी सन्तानलाई हस्तान्तरण गर्नबाट चुकिरहेका छौं । धेरै अभिभावकले अनौपचारिक रूपमा संस्कृत मन्त्रहरू बालबालिकालाई सिकाउँदै आए पनि विद्यालयमा प्रयोगमा आउन छाडेकाले अभ्यास भइरहन पाउँदैन । अभ्यासको अभावले अनौपचारिक रूपमा सिकाइएका मन्त्रहरूको शुद्ध वाचनमा कठिनाइ पर्ने गरेको छ ।

नेपालमा संस्कृत भाषालाई जातविशेषसँग जोड्ने गरिएकाले, ब्राह्मण जातिको मात्र पेवा मानिँदै आएकाले समस्या बढ्दै गएको हो । कुनै पनि भाषा एक जातिको मात्र हुन सक्दैन । कुनै पनि भाषामा सबै जाति–समुदायले अपनत्व बोध गर्न सक्नुपर्छ । विश्वसँग प्रतिस्पर्धा गर्न हाल अंग्रेजीको महत्त्व बढ्दै गएको सत्य हो, तर अंग्रेजी जान्ने मानिसले संस्कृत पनि जानेको छ भने सुनमा सुगन्ध हुनेमा दुई मत नहोला । त्यसैले शिक्षालयहरूमा संस्कृतलाई पनि अंग्रेजीलाई जस्तै महत्त्व दिने गरे केही वर्षमै त्यसको सुखद परिणाम देख्न सकिन्छ ।

नेपालमा संस्कृत विद्यालयहरू नभएका होइनन्, आमजनले यसको महत्त्वबोध गर्न नसकेका हुन् । त्यही भएर त्यस्ता शिक्षालयमा विद्यार्थीहरू कम हुँदै गएका छन् । राज्य पनि यसप्रति अपेक्षित चनाखो हुन सकेको छैन । संयुक्त राष्ट्र संघका अनुसार, विश्वभरि बोलिनेमध्ये ९७ प्रतिशत भाषा संस्कृतबाट प्रभावित छन् । धेरैजसो भाषाको मुहान संस्कृतलाई जगेर्ना गर्नु हाम्रो कर्तव्य हो । मुहान भनेको जरो हो, स्रोत हो । जरो नै कमजोर भए हाम्रो अस्तित्व पनि सबल रहन सक्दैन । त्यसैले संस्कृतप्रति हामीमा पहिलेझैं ‘काक चेष्टा’ रहनु सान्दर्भिक हुन्छ ।

Friday, January 29, 2021

Published in Kantipur

 

बलात्कार रोक्न सामाजिक अनुसन्धान

नमिता पौडेल
https://ekantipur.com/opinion/2021/01/25/161154192639353087.html?fbclid=IwAR3koNTDyAqmEu7KNCDutudESAeVwq0mtRM1SFrcsQKr_FwvujxbkUb5lcY

कोरोना महामारीमा अबोध बालिकाहरू बलात्कृत भएका समाचार आइरहे । बलात्कारीले आजीवन काराबासको सजाय पाए भन्ने समाचारचाहिँ त्यति पढ्न पाइएको छैन ।

बालिकाहरू घरबाहिर हिँडडुल गर्दा सुरक्षित महसुस गर्न कहिले पाउँछन् र बालिकालाई सुरक्षा दिने समाज बनाउन के गर्न सकिन्छ भन्ने प्रश्नको उत्तर अनुसन्धानबाट पाइएला तर यस्ता घटनासम्बन्धी अनुसन्धान गर्ने संस्था नेपालमा कम छन् । बलात्कारीहरूलाई राज्यले नै संरक्षण गरिरहेको छ ।

बलात्कार बढ्नुको पछाडि लैंगिक विभेद प्रमुख कारक तत्त्व हो । यहाँ महिला भएकै कारण हरेक कुरामा पुरुषको अधीनमा रहनुपर्छ । समाजका मूल्य–मान्यता र संस्कार महिलामैत्री छैनन् । फलस्वरूप महिला पुरुषको तुलनामा आर्थिक, राजनीतिक र भावनात्मक रूपमा कमजोर छन् । छोरी सानो छँदा बुबा, वयस्कमा श्रीमान् र वृद्धा हुँदा छोरोको अधीनमा रहनुपर्ने मान्यताले महिलालाई आश्रित बनाइरह्यो । घरबाहिर सकभर ननिस्किने, निस्के पनि ‘कसैले केही भन्दा मुख नफर्काउनू है’ भन्ने संस्कार पाएर हुर्केका महिला सधैं डरमा बाँचे । यसले अन्यायविरुद्ध लड्नुको सट्टा चुप रहन सिकायो । छोरीले थोरै खान्छन्, त्यसैले शारीरिक रूपले छोराभन्दा कमजोर हुन्छन् भन्ने सुन्दै छोरीहरू हुर्किए, जसले गर्दा शारीरिक रूपमा कमजोर भए पनि नभए पनि उनीहरूले आफू कमजोर भएको भ्रम पालेर बसे । भइपरिआउने घटनाका लागि तयार हुन सकेनन् ।

मानसिकता परिवर्तन गर्नुको सट्टा अझै पनि समाजले छोरीले लगाएको छोटो लुगा र रातो लिपस्टिक परिवर्तन गर्न खोज्छ । ‘मर्द’, ‘पुरुषार्थ’ जस्ता शब्दले महिला शोषणलाई उक्साइरहेका छन् । प्रेम प्रस्ताव स्वीकार नगर्ने महिलालाई ‘उठाएर ले, एसिड हान्दे, जबर्जस्ती गर्, पेट बोकाएर छोड्दे’ जस्ता संवाद कतिपय सिनेमामा प्रयोग भइरहेका छन्, जसले पुरुषहरूलाई दुरुत्साहन गरिरहेको छ । उता महिलालाई भने ‘तिमी सावधान हुनुपर्छ’ भनेर सिकाइएको छ । लैंगिक समानता नभएसम्म बलात्कारी जन्मिरहन्छन् ।

मानिसको आचरण उसकै वरिपरिको वातावरणले निर्माण गर्छ । व्यक्तिको सोच पनि समाजले बनाउँछ । बलात्कार कम गर्न परिवारले दिने अनौपचारिक ज्ञान र औपचारिक शिक्षाको भूमिका महत्त्वपूर्ण हुन्छ । विश्वव्यापीकरणसँगै हाम्रो समाज विश्वव्यापी प्रविधिसँग जोडियो । इन्टरनेट र स्मार्ट फोनको विस्तारसँगै पोर्नोग्राफी सर्वसुलभ भयो । अश्लील भिडियोहरूमार्फत पुरुषले आफ्नो शारीरिक आवश्यकता जसरी पनि पूरा गर्नुपर्छ भन्ने सिकिरहेका छन् । समाजले त्यस्ता पुरुषहरूलाई ‘शारीरिक आवश्यकता आपसी सहमतिमा पूरा गर्नुपर्छ, जबरजस्तीमा हैन’ भन्ने ज्ञान दिन सकेको छैन । अश्लील भिडियोमा रोक लगाउनु समाधान हैन, पुरुषहरूको सोचाइलाई सुधार्नुपर्छ । पश्चिमीकरणले निम्ताएको पोर्नोग्राफी मात्रै सायद बलात्कारको कारक होइन । यौनसम्बन्धमा सहमति र स्वतन्त्रता चाहिन्छ भन्ने कुरा पनि हरेक व्यक्तिले बुझ्नु जरुरी छ ।

महिलामाथि हुने विभेदलाई श्रमका आधारमा पनि व्याख्या गर्न सकिन्छ । महिलाले बच्चा हुर्काउनु र भान्छाको काम गर्नुपर्छ भनिन्छ, हाम्रो समाजमा । साधारण मानिसको चेतनामा यो बसेको छ— घरमा पाहुना आए छोरा गफ गरेर बस्नुपर्छ, छोरी भान्छातिर लाग्नुपर्छ । धेरैजसो बलात्कार महिलाघरमा एक्लै परेको मौका छोपी हुने गरेका छन् । र, महिलाले त्यसको प्रतिकार गर्ने आँट गर्न सकेका छैनन् । बसाइँसराइ, वैवाहिक जीवनमा खटपट/डिभोर्स, सांस्कृतिक विभिन्नताजस्ता कारण बलात्कार बढिरहेका छन् ।

हालै बैतडीमा ५ वर्षीया बालिकाको बलात्कार भयो । उनलाई काखीमा च्यापेर घरबाट बोकेर हिँड्ने व्यक्ति ‘डिभोर्सी’ थिए । यद्यपि उनी नै बलात्कारी रहेको प्रमाणित भइसकेको छैन । पीडित परिवार कारबाहीको माग राखी सरकारी निकाय चहारिरहेको छ । बलात्कारी पक्राउ परे पनि सजाय पाउँछन् कि पाउँदैनन्, भविष्यले बताउला । तर, अलिक दिनमा यो घटना सबैले बिर्सिन्छन् । घटनालाई पछ्याउँदै समाचार आउन छोड्छ । फेरि अर्को घटना दोहोरिन्छ अनि सामाजिक सञ्जालमा ‘बलात्कारीलाई फाँसी दे’ भन्दै आक्रोश पोखिन्छ ।

गत साउनदेखि मंसिरसम्म १० वर्षमुनिका १३४ बालिका बलात्कृत भएको तथ्यांक सार्वजनिक भएको छ । तर, बलात्कारीले सजाय पाएको तथ्यांक बाहिरिएको छैन । किन बलात्कारीले सजाय पाउँदैनन्, यसमा कसको कमजोरी छ भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ । कुन मनसायले पुरुषलाई बलात्कारजस्तो जघन्य अपराध गर्न प्रेरित गर्छ र त्यसका सामाजिक कारण के–के हुन् भन्नेबारे पनि खोजी हुनुपर्छ । यस्ता प्रश्नको उत्तर प्रहरी अनुसन्धानले मात्र दिँदैन, त्यसका लागि घटनाको प्रकृतिअनुसार बृहत् सामाजिक अनुसन्धानको खाँचो पर्छ ।

namita.dlb@gmail.com

प्रकाशित : माघ १२, २०७७ ०८:१७

केही नबुझ्न मन छ

 



महेन्द्र राजमार्गको त्यो पल्लो कुनामा

काठको टाडे घरमा बसेर, स्टिलको ग्लासभरि

चियामा कोकिस चोपदै, कदमको रुखलाई नियाल्दै गर्दा

एउटा ठुलो जुलुस, महेन्द् राजमार्गमा देखिन्छ

 

मसरुम कट छोटो हेयर मै छोटै हाफपाइन्ट लगाएकी

जुलुस भन्दा नि झन्डा हेर्दै, आफ्नै बरण्डा भएको ३ वोटा मंध्ये

एउटा झन्डा निकाल्दै कदमको रुख मुनि हरियो झन्डा देखाछिन्

मुसुमुसु हास्ने पत्रकार अंकल जुलुस भित्रबाट हात हलाउछन

 

जुलुस गएपछी खुरूर कुदेर घर अगाडीको जल्पाईको रुखमा मुख अमिल्याउदा

अर्को जुलुस सोल्बेंडमा देखा पर्छ, जुलुस भन्दा नि झन्डा हेर्दै

आफ्नो बरण्डा भएको ३ वोटा झन्डा मंध्ये, एउटा झन्डा निकाल्दै

कदमको रुख मुनि रातो झन्डा देखाछिन्, हास्ने पत्रकार अंकल जुलुस भित्रबाट हात हलाउछन

 

अर्को दिन फेरी स्टिलको ग्लासभरि चियामा पाउरोटी चोपदै, कदमको रुखलाई नियाल्दै गर्दा

हास्ने पत्रकार अंकल एक्लै साइकलमा सुसेली मार्दै पेट्रोल पम्पबाट आरोलो झर्छन

चिनेपछि खुरूर कुद्दै, झरेको पहेलो कदम लाइ टोक्दै आज खोइ त झन्डा, खोइ जुलुस शोधछिन्

साइकलको अगाडी राखेको तिनकुने झन्डा निलो र रातो देखाउदै, “म मात्र यो झन्डाको हकदार”

 

मूसरुमे बालिका स्यागीमा छोटो हाफपेन्ट साडीमा बद्लिदा, जुलुस उस्तै रहेछ अनि झन्डा पनि

आज जुलुसको झन्डा हैन बरण्डामा भएको ३ वोटा  मंध्ये तेस्रो झन्डा लिन जान मन छ

अंकल  जस्तै तिनकुने झन्डा निलो र रातो देखाउदै, “म मात्र यो झन्डाको हकदार” भन्न मन छ

क्रान्तिमा हैन शान्तिमा चियामा कोकिस चोप्दै केहि नबुझ्न मन छ


नमिता पौडेल