Wednesday, March 4, 2020

विपद् बाजा बजाएर आउँदैन

विपद् बाजा बजाएर आउँदैन भन्छन् तर बाजा बजाएर आइरहँदा पनि सुनुवाइ भइरहेको छैन। आफ्नो कमजोर अवस्थाबारे जानकार हुँदाहुँदै पनि हामी अटेरी गरिरहेका छौं। के सधैं अरूले गरिदिन्छ भनेर मात्र बसिरहने ? चीनजस्तो विकसित मुलुकमा कोरोना भाइरस (कोभिड–१९) का कारण धमाधम मान्छेको ज्यान गइरहेको छ भने हाम्रोमा प्रवेश गर्‍यो भने के हालत होला ?
कोभिड–१९ जसको कारणले हाम्रो सीमा जोडिएको मुलुक चीनमा धेरैको ज्यान गइसकेको छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनअनुसार विश्वभर ८३६५२ जना मानिस संक्रमित भएको पाइएको छ। चीनमा मात्र ७८९६१ व्यक्तिमा देखिएको छ भने त्यसमध्ये २७९१ को मृत्यु भइसकेको छ। चीनदेखि बाहिर ४६९१ जना संक्रमित भएको र ५१ देशमा ६७ जना मानिसको कोभिड–१९ को कारणले मृत्यु भइसकेको छ। महामारीको रूपमा आएको विपद्लाई सानो मानेर नेपाल ‘कोरोना फ्रि जोन’ घोषित गर्ने कि सावधानी अपनाउने ? सधैं सबै ठाउँमा पद मात्र जिम्मेवारी हुँदैन सूचनामूलक सन्देश प्रवाह गर्ने मिडिया, विद्यालय, निजी तथा सार्वजनिक संघसंस्थाका साथै व्यक्तिगत तर्फबाट सावधानी अपनाउन आवश्यक छ।
विपद्बारे भिन्नभिन्न भनाइ सार्वजनिक भएका छन्। सर्वसाधारणले दुःख पाउनु, मानवीय, भौतिक, आर्थिक वा वातावरणीय क्षति पुग्नु एवं त्यसको असरले समुदायको सामान्य जीवन पद्धति अवरुद्ध हुनुलाई विपद् मान्नुपर्छ। हाल चीनमा फैलिएको कोरोना भाइरसले चीनभित्रै रहेका १.३ अरब मानिसको दैनिक जीवनमा प्रभाव परेको छ। विश्वको तेस्रो ठूलो क्षेत्रफल भएका मुलुकसमेत त्रासमा जीवन गुजारिरहेका छन्। मानवीय क्षति घटेको छैन, पूरै बजार, विद्यालय, कलकारखाना बन्द हुँदा देशकै आर्थिक अवस्थामा ठूलो धक्का पुगेको छ। नेपाल भिजिट नेपाल २०२० सफल पार्न हामी एकजुट भएका बेला यो विपद्ले त्रास बढाएको छ। जसका कारण हाम्रो लक्ष्य पूरा हुन कठिन छ। यो महामारीलाई नेपालभित्र छिर्न नदिने वातावरण बनाउन सकियो भने भिजिट नेपाल २०२५ मा पनि मनाउन सकिन्छ। हामी रहे देश रहन्छ, देश नै नरहे हाम्रा उद्देश्य कहाँ रहन्छ ?  नेपालले बाहिर हामी कोरोना फ्रि जोनमा छौं भने पनि आम नागरिकमा त्रास घटेको छैन। मनोवैज्ञानिक असर बढी परेको सामाजिक सञ्जालका प्रतिक्रियाले स्पष्ट पार्छ।
सरकारदेखि बाहेक हामी चेतनशील नागरिकले पनि आआफ्नो ठाउँबाट तयारी गर्नुपर्छ। सरकारलाई गाली गरेर मात्र जिम्मेवारी पूरा हुँदैन। हामीले जानेको सिकेको कुरा अरूलाई सिकाउनु सबैको कर्तव्य हुन आउँछ।
बेलारुस, लिथुआनिया, नेदरल्याण्ड, न्युजिल्याण्ड तथा नाइजेरिया जस्ता देशमा संक्रमित भेटिँदा किनारा जोडिएको देशमा आउँदैन भनेर बस्नु मूर्खता हो तर पनि ढिलो भने पक्कै भएको छैन। हाल नेपाल कोरोना भाइरसको खतरामा उच्च जोखिममा छ। सरकार सतर्क भएर बस्नुपर्छ। देशका कर्णधार बालबालिकामा त झन् ठूलो मनोवैज्ञानिक असर परेको छ। यसका लागि विद्यालयबाट विशेष किसिमका कक्षा सञ्चालन गरी बालबालिकामा सुरक्षित महसुस गराउनु, रोग नआएपुगे पनि त्यससम्बन्धी जानकारी फैलाउनु पहिलो आवश्यकता हो। एउटा विद्यार्थीलाई समसामयिक विषयमा सचेत गराउनु विद्यालय कर्तव्य पनि हुन्छ। दिनदिनै फैलिँदो भाइरसबाट कसरी बच्न सकिन्छ भनेर विभिन्न विज्ञहरूबाट सुझाव आइरहेका छन्। ती सुझाव अनुसरण गर्नु पहिलो सावधानी हुनेछ। विपद् आए त्यसको निराकरण कसरी गर्ने भन्ने योजना पहिल्यै तय हुनुपर्छ।
२०७२ को भूकम्प नेपालका लागि विपद् थियो तर अरू देशका लागि थिएन। त्यसैले सबैतिरबाट सहयोग भएर सामना गर्न सजिलो भयो। कोरोना मुख्य रूपमा चीनमा आएको विपद् हो। यो क्रमशः सर्दै अन्यत्र फैलिएकाले भोलिका दिनमा नेपालमा पनि नआउला भन्न सकिन्न। चीनले रोकथामका लागि काम गरिरहेको भए पनि अरू देशमा फैलिएकाले हामी सचेत बन्नुपरेको हो।
हालसम्म नेपालका लागि कोरोना एउटा भाइरसमात्र हो, विपद् भइसकेको छैन विपद् हुने प्रबल सम्भावना भएको विश्व स्वास्थ्य संगठनले नेपाललाई जोखिममा राखिदिएर संकेत गरिदिएको छ।
नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ मा गैरप्राकृतिक विपद् भन्नाले महामारी, डढेलो, किट वा सूक्ष्म जीवाणु आतंक, पशु तथा चराचुरुंगीमा हुने फ्लु, प्यान्डातमक फ्लु, सर्पदंश, जनावर आतंक, खानी, सडक, आगलागी, ग्याँस, रसायन विकिरण ग्याँस विस्फोटन आदि सम्झिनुपर्छ भनेर महामारीलाई सम्बोधन गरेको छ। कुनै पनि रोगबाट निरन्तर ज्यान अकालमा गइरहेको छ भने त्यसलाई महामारी भन्ने चलन छ। नेपालमा विपद् भन्नाले प्राकृतिक विपद्लाई मात्र मानिन्छ। विपद् व्यवस्थापन प्राधिकरण बनिसकेकाले विपद्को पूर्व तयारीका लागि केके कदम चालियो भन्नेमा पंक्तिकार खासै जानकार छैन, विपद् आइसकेपछि मात्र व्यवस्थापन गर्ने हो कि बुझ्न बाँकी छ। कोरोना नियन्त्रणको पूर्वतयारी भन्ने पक्कै भएको हुनुपर्छ। सरकारदेखि बाहेक हामी चेतनशील नागरिकले पनि आआफ्नो ठाउँबाट तयारी गर्नुपर्छ। सरकारलाई गाली गरेर मात्र जिम्मेवारी पूरा हुँदैन। हामीले जानेको सिकेको कुरा अरूलाई सिकाउनु सबैको कर्तव्य हुन आउँछ। घरमा पनि पूर्वतयारी कसरी गर्न सकिन्छ, सरसफाइमा प्रयोग हुने डिटोल, साबुन सेनिटाएजर संकलन गरेर राख्नुपर्छ। किनकि यी पछिसम्म बिग्रने चिज होइनन्।
घरमा दिनहुँ प्रयोग हुने खाद्यान्न २÷३ महिनासम्मलाई पुग्नेगरी राख्नुपर्छ। चामल, दाल, आलु, तेल, नुन , चिउरा, पिठो इत्यादि। यदि बजार पूर्णरूपमा बन्द गर्नु पर्‍यो भने भोकै बस्नु नपरोस्। घरमा मास्क, ग्लोब्स, ज्वोरो, रुघाखोकीको औषधि पनि किनेर राख्ने, ताकि तुरुन्त आत्तिएर बाहिर जानु नपरोस्। घरमा बालबच्चा र वृद्धवृद्धा भएमा विशेष चनाखो हुनुपर्छ। यी बाहेक घरपालुवा जनावारबाट पनि टाढै बस्नुपर्छ। मासुजन्य वस्तुको सेवन नगर्ने। कोभिड–१९, यो एउटा विपद् बनेर आएको छ र नेपालमा आउँदैन भनेर कामना त गरौं तर ढुक्क भने नपरौं यसैमा बुद्धिमानी हुनेछ। अन्ततः यो एउटा देशको मात्र समस्या होइन, यो हामी सबैको साझा समस्या हो। विमानस्थलमा खुला रूपमा जान÷आउन दिने क्रमले पनि हामी कतै खतरातिर मोडिँदै त छैनौ ?
अन्नपूर्ण पोस्ट मा प्रकासित 
०३/०४/२०२०