Wednesday, September 16, 2020

‘मास्टरी एउटा पेशा हो, जीवन हाेइन’

 

  • नमिता पौडेल 
  • ३१ भदौ बुधबार, २०७७ | ०९:२७:०० मा प्रकाशित
  • हिजो मैले फेसबुको स्टोरीमा मेरो वजन घटेको जनाउँदै फोटो हालेको थिएँ । म कुनैपनि कुराको तत्काल उत्तर नदिन आफूलाई सम्हाल्ने प्रयास गर्छु तर कहिलेकहिँ जति गरेपनि त्यो कुराले मलाई पटक-पटक डिस्टर्ब गर्छ भने म कपीको कुनै पानामा मज्जाले लेखेर घरको कुनामा फालिदिन्छु अनि मेरो मन शान्त हुन्छ । मेरो वजन घटेको स्टोरीवालामा फोटोमा मास्टरनी भएर दुब्लो सुहाउँदैन भन्ने कमेन्ट आउँछ । अनि मास्टरनी पाइन्ट लाएर हिँड्नु विद्यार्थीले नपत्याउलान नि त ? मोटो हुनु राम्रो हैन, आवश्यक भन्दा बढि मोटाउँदै गयोभने रोगहरु लग्न सक्छ । सुगर अनि थाईराइड जस्ता समस्या देखिन सक्छ । अब मास्टरनी भएँ भन्दैमा आफ्नो शरीर सन्तुलनमा राख्न नपाउनु ? अनि के मेरो लुगाले कि मेरो ज्ञानले पढाउने  हो भन्न मन थियो तर भनिन सोचेँ उसले कुनै गलत गरेकी छैन उ पनि यही समाजमा जन्मी-हुर्की र यही समाजले सिकाएको कुरा बोल्दै छे । उसलाई जवाफ दिँदा उसले मात्र सुन्ली बरु लेखेर कुनै पत्रिकामा दिन्छु कम से कम १० जनाले सुन्छन भने लाग्यो । हो म मास्टर र ब्याचलरको विधार्थीलाई पढाउँछु तर मेरो प्रोफेसन मेरो स्वस्थ्यभन्दा पछि आउँछ, मेरो स्वतन्त्रता भन्दा पछि आउँछ किनकि पेशालाई मैले चुनेकी हो ।

    मैले ख्याल नगर्न खोज्दा खोज्दै पनि पटक-पटक त्यही कुरामा मन जान्छ । मास्टरनी अनि दुब्लो यहाँ के कनेक्सन रहेछ त हाम्रो समाजमा भनेर समाजका यीसंग जोडिएका केहि पाटाहरु खोतल्न थाल्छु । समाजशास्त्र पढेतापनि समाजलाई चिरफार नै गरेर हेर्ने गरी शास्त्री भइसकेको भने छैन तर त्यो बाटोमा भने पाइला चाल्दै छु । सम्झेँ मैले देखेका मास्टर-मास्टरनी कस्ता रहेछन त ? आज मात्र एउटा इटहरीमा एक कबिले आत्महत्या गरिन रे सानो छोरोको पनि ख्याल नगरी, भने यही समाजसंग कति बाध्य भइछिन् त हार मान्न ? त्यत्रो पढे लेखेकी कबि, साहित्यकार कतिलाई जिउने आभास दिएर आफैँ सेलाउन बाध्य भइन् । आत्महत्या रोकथाम दिवसको हप्ता पुग्न नपाउँदा यस्ता घटना घट्दा मन खिन्न हुन्छ । यहाँ हरेक मानिसलाई एउटा फ्रेम भित्र हालिदिएको छ । यहाँ कुनै महिला पुरुष भन्ने कुरा छैन सबै एउटा फ्रेम भित्र जिउन बाध्य बनाएको छ । मैले विदेशमा रहँदा धेरै साथीहरु नेपाल किन नफर्किने भन्ने प्रश्न गर्थेँ प्रायः सबैको उत्तर उस्तै हुन्थ्यो नेपालमा धेरै चियोचर्चा हुन्छ । लाउन र खान हिँड्न स्वतन्त्रता छैन अनि तिनै कुराको लोभमा परदेशमा भासिन बाध्य हुन्छन् ।

    लगभग एकवर्ष अगाडि एकजना पुरूष साथी पेशामा मास्टरसंग अचानक भेट भयो । उहाँको एउटा हातमा बियरको ग्लास, अगाडि चुरोटको बट्टा र साथमा प्रेमिका हुनुहुन्थ्यो । म चितवनबाट फर्किँदा खानाको लागि भनेर परिवारसहित त्यो रिसोर्टमा छिरेको थिएँ । मास्टर साहेब यति रातो पिरो हुनु भयो र कामे जस्तो देखिनु हुन्थ्यो लग्थ्यो उहाँले निकै ठूलो अपराध गर्नु भएको छ । मलाई देखेपछि म्याम विदार्थीसंग मेरो यो अवस्थाको कुरा नगरी दिनु होला है । यी कुराबाट थाह हुन्छ कि महिला मात्र हैन पुरूष पनि फ्रेम भित्र बधियेकै रहेछन् । समग्र हेर्ने हो भने महिला बढि होलान तर समाजभित्र संरचना, संरचना  भित्रको हामी आफैँले बनाएको नियमको सिकार भने महिला पुरूष दुवै छन् । हामी कहाँ के भ्रम छ भने पश्चिमीकारण हुँदै जाँदा हाम्रो सस्कृति लोप हुँदै छ अनि पश्चिमीकारणले गर्दा हाम्रा छोराछोरी बिग्रे । मलाई लाग्छ समस्या पश्चिमीकरणमा हाेइन हाम्रो साँगुरिएको सोचमा छ जुन हामी कहिले निकाल्न चाहँदैनौँ । 

    जतिसुकै नराम्रो नै किन नहोस हिन्दू सँस्कृति राम्रो भन्न छाड्दैनौँ चाहे यो धर्मले छुत र अछुत छुट्याओस, रजस्वला भएकी छोरी छाउपडी मै मारिउन, पिण्ड दिन ५ छोरीपछि नि छोरा नै आस गरौँ, छोरी पराई छोरा आफ्नो नै सोचौँ । हामीले आफ्नै संस्कृति राम्रो लाग्छ, जुन संस्कृतिमा परि धेरै चेली जले दाइजोको नाममा, हाम्रै संस्कृति राम्रो छ, काजक्रिया गर्दा ऋण खोजेर सम्पूर्ण कर्म गर्नुपर्ने । हुनेलाई ठीक छ नहुनेले कसरी गर्ने मतलब छैन यहाँ मात्र संस्कृति जोगाउनसंग मतलब छ । सकी-नसकी अरुको लागि ऋण लिएर संस्कृति जोगाउन ठुलै विवाह गर्नुपर्छ । यी त भए हाम्रा धर्म र संस्कृति जुन हामी हरेक पल बचाउन खोज्छौँ किनकी हामी आफूले ठीक नलागेको संग भन्दा यो समाजलाई लाग्ने ठीकसंग नाता गाँसेको छौँ अनि यही समाजले निर्धारण गरिदिएको रहेछ मास्टर र मास्टरनी वाला फ्रेम पनि ।

    म कलेजमा हुँदै निकै बोल्ड, सामजिक समस्याको मुद्दा उठाउँदै आउने म्यामले मेरो जुत्तामा हेर्दै प्रश्न गर्नु भएको थियो । कुर्तामा पनि यस्तो स्पोर्ट जुत्ता ? मैले हाँस्दै भने मलाई सजिलो लाग्छ अरुलाई जेसुकै लागोस फेरी मास्टरनीले कलेज आउँदा यस्तो लाउनु हुँदैन भनेर भनेर अग्लो (हिलवाला) जुत्ता लगाउँदा ढाड दुख्ने समस्या हुन्छ । हामीफेरी धेरैबेर उभिनुपर्छ त्यसकारण स्वस्थ नै ठूलो धन हो विचार गर्नु पर्यो नि भने । मेरो उत्तरको २/३ पछि उहाँको खुट्टामा पनि तेस्तै जुत्ता देखेँ । खुसी लाग्यो किनकि उहाँ पेशा संगै स्वास्थ्यलाई ख्याल गर्दै हुनुहुन्थ्यो ।

    म अस्ट्रेलियामा हुँदा मेरो मास्टरनीले  मिनी स्कर्टमा आएर बाहिर बसेर चुरोटको धुवाँ फाल्दा यसले के पढाउँछे  हेर्दै गुण्डनी जस्ती छे जस्तो भयो किनभने म नेपालको हावा पानीमा हुर्केँ म्याम भनेको टक्क सारी कि कुर्ता लगाएर, जेन्टल तरिकाबाट प्रस्तुत हुनुपर्छ भन्नेमा थिएँ । मेरो सोचाई बदलिन निकै समय लाग्यो अनि बुझेँ ज्ञान हाम्रो शरीर कस्तो छ भनेमा हाेइन हाम्रो सामाजिक व्यवहारमा झुल्किनु पर्छ किनकि हामी सामाजिक प्राणी हौँ र यही समाजमा बसेर सबैले राम्रो हुने काम गर्न सकियो भने हामी सबै कुशल मास्टर । मोटो, पातलो शरीरले ज्ञानको निर्धारण गर्ने भए अस्टबक्रको ज्ञानको कदर हुँदैन थियो होला । मास्टरी एउटा पेशा हो, जीवन हाेइन । मास्टर सिक्न र सिकाउनलाई जन्मेको पक्कै हो तर जीवनलाई बिर्सेर हाेइन । हरेक पेशालाई सम्मान गरौँ ।https://gaunsahar.com/news-details/33625/2020-09-16

  • No comments:

    Post a Comment