Saturday, July 11, 2020

अभावमा अवसर : ‘अनलाइन शिक्षा’

अनलाइन शिक्षा आजको दिनमा एउटा ठूलो चुनौतीको रुपमा उभिएको छ । कोरोनाको संख्या बढे लगतै देशमा अनिश्चितता पनि बढेको छ । यो लेख लेखिरहँदा कोरोनाबाट नेपालमा पहिलो महिला मृतक घोषित भएको कुरा भर्खरै सार्वजनिक भएको छ । अब आउने दिन अझ बिकराल हुने संकेत आइसकेको छ ।
लकडाउन खुलिहाले पनि सबै कुरा पहिला जस्तै सामान्य हुन धेरै नै समय लाग्छ । त्यहिँ माथि शिक्षा क्षेत्रमा साना-साना बालबालिका समेत समावेश हुने भएकोले यो क्षेत्र् झन् धेरै संवेदनशील छ ।
अनलाइन शिक्षा एउटा चुनौतीको रुपमा रहनुको पछाडि धेरै कारण रहेका छन् । सबैसंग इन्टरनेटको पहुँच नहुनु पहिलो कारण हुन सक्छ यद्धपी त्यसको पछाडि आर्थिक, सामजिक अरु धेरै कारण हुन सक्छन् । नेपालमा दुरसंचारकै २०७६ काे  रिपोर्टलाई आधार मान्दा पनि इन्टरनेट प्रयोगकर्ता १ करोड ९८ लाख ४१ हजार ६ सय जुन कुल जनसंख्याको ६७.२३ हो ।यसमा पनि मोबाईलमा इन्टरनेट प्रयोग गर्ने बढि छन् । साधारणतया मोबाइल संचारको लागि बढि प्रयोग हुने भएको ले त्यसैबाट बच्चाको पढाईलाई निरन्तरता दिन एकदमै गाह्राे कुरा हो । एउटा इन्टरनेट मै पहुँच नहुनु अर्को स्राेत र साधनको अभाव जस्तोः ल्यापटप, ट्याब ,मोबाइल नहुनु अर्को चुनौती हुन सक्छ ।
अबको पहिलो प्राथमिकता भनेको जसरी भएनि आफूलाई यो महामारीबाट बचाउने हो । यो अवस्थामा मानसिक तवरले इ-शिक्षामा ध्यान नजान सक्छ । अर्थात् भनौँ ज्यान रहे बाँकी कुरा भने तिर सोचिन्छ र यस्तो सोच आउनु ठिकै पनि हो । अब यहाँ बुझ्नुपर्ने कुरा के छ भने समाजमा हुने धेरै घटनाले अभावको सिर्जना गर्दछ तर अभावलाई अवसरमा बदल्न सकियो भने बिबेकशील निर्णय हुनेछ । तिनै तहका सरकारी निकाय र प्राइभेट संघसंस्थाबाट स्राेत, साधन तथा क्षमता अभिवृद्धिको लागि काम गर्नुपर्ने आजको आवश्य्कता बनेको छ ।  अनि विकास रोकिनु हुँदैन ज्ञान आर्जन गर्ने कुरा चाहे त्यो भौतिक होस् या भर्चुअल सबै उपयुक्त हुन्छन् ।
प्रविधिले विनास र विकास दुवै गर्छ र हरेक कुराको सकारात्मक र नकारात्मक दुवै पाटा हुन्छन् । नकारात्मक पक्षबाट सचेत रहँदै सकारात्मक पक्ष आफूमा समाहित गर्न सकियो भने अनलाइन शिक्षाले भविष्यमा विकासमा सहयोग पुर्याउन सक्छ । अब यहाँ विकास भन्नाले हामी ले के बुझ्ने भन्ने कुरा चाहिँ ‘सोसल कन्स्ट्रक्सन अफ रियालिटी’ मा भर पर्छ । जस्तो कि कुन कुराको मूल्य कति छ भन्ने कुराभन्दा पनि समाजले त्यसलाई कति मूल्य दिएको छ भन्ने  महत्वपूर्ण हुन्छ । जस्तैः पैसा जुन एउटा कागजको टुक्रालाई मानव अन्तरक्रियाबाट त्यसलाई एउटा मूल्य दिएको हुन्छ जसलाई हामी सत्य मान्छौ, नत्र त्यो कागज अस्तित्वमा रहँदैनथियो । त्यस्तै भौतिक विकासलाई विकास मान्ने कि ? कृषिमा आत्मानिर्भरलाई विकास मान्ने कि या आइटीमा पोख्त जनशक्ति भए विकास हुन्छ कि सबै नागरिक शिक्षित भए विकास मान्ने ? यो कुरा त्यति बेलाको  ‘सोसल कन्स्ट्रक्सन अफ रियालिटी’ ले निर्धारित गर्नेछ । तर हाल जुन तरिकाबाट हाम्रो समाज पुनःसंरचित हुँदैछ त्यसमा डिजिटल अधिनायकवाद जो संग हुन्छ त्यो विकासमा अगाडि छ भनेर देखिएको छ र हामीले यसलाई नै आज को २१औं सताब्दीमा सत्य मान्दै छौँ । आज विपदको बेलामा विद्यार्थीलाई भर्चुअल शिक्षा दिएर अगाडि बढाउँदा बेफाइदा भने पक्कै हुँदैन बरु निम्नलिखित फाइदाहरु लिन सकिन्छ ।
प्रविधिमैत्री जनशक्ति उत्पादनः हालसम्म विद्यार्थीले एउटा कक्षा कोठा बसेर मात्र शिक्षा आर्जन गर्न सकिन्छ भन्ने थियो तर कोरोनालाई सिर्जना गरेको विपदमा धेरै कलेज तथा विद्यालयले गरेको अनलाइन कक्षाको थालनी प्रशंसायोग्य छ जसले बारीमा कोदालो खन्दै शिक्षकले भनेको कुरा सुनिरहेको छ भने स-साना नानीहरु जूम र माइक्रोसफ्ट टिमसंग परिचित हुँदै छन् । डोल्पामा रहेको विद्यार्थी डाटाबाट इन्टरनेट चलाउँदा भन्दै छ- भविश्यमा पानि यस्तो कक्षा संचालन भए मास्टर पढ्न सेन्टरमा आउनु पर्ने बाध्यता कम हुने थियो । समाचारदेखि किरानासम्म, सिनेमादेखि तरकारीसम्म अनलाइन हुँदा शिक्षा नहुने कुरै छैन । अवस्था सामान्य नहुन्जेलसम्म शिक्षाबाट वञ्चित सकेसम्म सबै वर्गलाई ध्यानमा राख्न सरकारको ध्यान पुगोस् ।
दुरशिक्षा (डिस्टेन्ट लर्निङ्ग) हाल अधिकतम मात्रमा विदेश पलायन हुने क्रमलाई दुरशिक्षाले केहि हदसम्म रोकी स्वदेश मै बसीबसी केहि गर्न प्रोत्साहन गर्दछ साथै नेपालभित्र पनि एक जिल्लाबाट अर्को जिल्ला बस्नुपर्ने बाध्यतालाई कम गर्दछ । केहि चुनौती हरु आवश्य छन् तर हटाऊन सकिन्छ ।
हाल बढिरहेको कोभिड-१९ र एक मृतकको संख्याले धेरै नेपालीलाई भयभित बनाएको अवस्थामा तत्कालै भौतिक कक्षा संचालन हुने अवस्था देखिँदैन । अरु युनिभर्सिटीको कुरा गर्ने हो भने हालसालै मलेसियामा रहेको लिंनकन युनिभर्सिटीले भर्चुअल परीक्षा लिरहेको छ परीक्षाको प्रकार भने केस स्टडी रहेको छ र साेहिमार्फत विद्यार्थीलाई अर्को सेमेस्टरमा लाने निर्णय गरेको छ । नेपालले पनि अरु युनिभर्सिटीको सिको गरेर विभिन्न तरिकाबाट शिक्षाविदहरुको सल्लाहमा अहिलेको समयलाई ध्यानमा राखी परीक्षा तथा कक्षा गराउन सक्छ र प्रविधिलाई अलिक अगाडि बढाउन विभिन्न भर्चुअल तालिमहरु राख्ने काम पनि शिक्षाक्षेत्र अन्तर्गत राखेर प्रविधिमैत्री जनशक्ति उत्पादन गर्दा केहि बिग्रिन्छ र ? अब आउने बजेटमा प्रविधितर्फ पनि ध्यान दिने हो कि !
पाैडेल समाजशास्त्री एवम् अध्यापक हुन् ।

No comments:

Post a Comment