Saturday, May 22, 2021

अझ सान्दर्भिक हुँदै संस्कृत

 Link : https://ekantipur.com/opinion/2021/05/20/162147596099678469.html?fbclid=IwAR027EV--5n0ZRFxdywHbcuDy9CIBKbH2VwhAkDK3EULsmy6KwWx84OQHUk

This Article is Published in  Kantipur daily 

काकचेष्टा, बको ध्यानं,
स्वाननिद्रा तथैव च ।
अल्पाहारी, गृहत्यागी,
विद्यार्थी पञ्चलक्षणम् ।।

कुनै पनि विद्यार्थीमा उपर्युक्त पाँचवटा लक्षण हुनुपर्छ भनिन्थ्यो, सानामा हामीलाई । अर्थात्, कागको जस्तो जान्ने कोसिस, बकुल्लाको जस्तो ध्यान, कुकुरको जस्तो निद्रा, आवश्यकताअनुसार थोरै खाना र ज्ञानार्जनका लागि घरको त्याग । मलाई लाग्छ, चार कक्षादेखि अनिवार्य रहेको संस्कृत पाठ्यक्रमले हामीलाई आफ्नो परम्परा र संस्कृति बुझ्न धेरै सहयोग गरेको थियो । केही वर्षयता भने पाठ्यक्रममा परिवर्तनसँगै संस्कृत भाषाको पहिचान धरमर हुँदै गएको छ । खाना खानुअगाडिको भन्नुपर्ने मन्त्र ‘हरिर्दाता हरिर्भोक्ता हरिरन्नं प्रजापतिः / हरिः सर्वशरीरस्थो भुङ्क्ते भोजयते हरिः’ आज परिवर्तन भएर ‘ओह गड, थ्यांकयु फर द फुड’ भएको छ ।



बाँकी विश्वले, विशेषतः पश्चिमले भने संस्कृत भाषाको महत्तालाई धेरै समयअघिदेखि नै बुझ्दै आइरहेको छ । युरोप–अमेरिकाका अनेक विद्यालय र विश्वविद्यालयहरूमा संस्कृत पढाउने गरिन्छ । कम्प्युटरको आम प्रचलन सुरु भएसँगै यो भाषाको उपादेयता अझ सिद्ध हुँदै आएको छ । त्यो पनि सम्बद्ध वैज्ञानिकहरूकै प्रचारका कारण । ‘द एआई म्यागजिन’ मा सन् १९८५ मा प्रकाशित ‘संस्कृत एन्ड आर्टिफिसियल इन्टेलिजेन्स–नासा : नलेज रिप्रिजेन्टेसन इन संस्कृत एन्ड आर्टिफिसियल इन्टेलिजेन्स’ शीर्षक लेखमा नासाका वैज्ञानिक रिक ब्रिग्सले अंग्रेजीमा झैं लेखिने एक थरी र बोलिने अर्को थरी (जस्तो– लेख्दा ‘डीओ’ तर बोल्दा ‘डु’; लेख्दा ‘जीओ’ तर बोल्दा ‘गो’) नभई जे लेखिन्छ त्यही बोलिने (जस्तो— बाल पठति) भएकाले कम्प्युटर प्रोग्रामिङका लागि अंग्रेजीसहित अन्य भाषाभन्दा संस्कृत बढी प्रभावकारी हुने उल्लेख गरेका छन् । अंग्रेजीको साटो संस्कृतलाई कम्प्युटरमा सेट गर्दा (अल्गोरिदममा संस्कृत प्रयोग गर्दा) निकै सजिलो हुने उनको विश्लेषण छ ।

संस्कृतमा भएजति शब्दहरू अरू भाषामा भेट्न सकिँदैन । वर्तमान समयमा संस्कृतमा १०२ अर्ब ७८ करोड ५० लाख शब्द छन् । पर्यायवाची शब्दहरूको अथाह भण्डार छ । त्यही भएर अमेरिकाले छैटौं–सातौं पुस्ताका सुपर कम्प्युटरलाई संस्कृतमा आधारित बनाउने भएको छ (‘नाइन लेसर नोन फ्याक्ट्स अबाउट संस्कृत,’ इन्डियन एक्सप्रेस, २५ अगस्ट २०१८) ।

न्युरो साइन्टिस्ट जेम्स हार्टजेलका अनुसार, कठिन शब्द बोल्दा जिब्रोको प्रशस्त व्यायाम हुने भएकाले संस्कृत बोल्दा दिमागका सबै मांसपेशीको अभ्यास हुन्छ (‘अ न्युरो साइन्टिस्ट एक्सप्लोर्स द संस्कृत इफेक्ट’, साइन्टिफिक अमेरिकन, २ जनवरी २०१८) । सायद यही कारण, संस्कृत पढ्ने प्रायः विद्यार्थीहरूको बुद्धि अरू भाषाका विद्यार्थीको भन्दा दुई–तीन गुणा बढी हुने उनले उल्लेख गरेका छन् । यसका लागि उनले संस्कृतका एक्काइस विद्यार्थी र अरू भाषाका विद्यार्थीहरूबीच तुलनात्मक अध्ययन गरेका थिए ।



संस्कृत भाषाको महिमा विश्वले गम्भीरतापूर्वक बुझिरहेका बेला नेपालमा भने अझ मन्टेसोरीदेखि नै अंग्रेजी मात्र होइन, चिनियाँ र जापानी भाषा पनि पढाइन्छ भनेर हामी दंग पर्छौं । विद्यालयहरूमा विद्यार्थीले अंग्रेजीको साटो नेपाली बोले भने दण्डित गर्ने गरिन्छ । संसारले महत्त्व बुझेको भाषा संस्कृत हामीचाहिँ भावी सन्तानलाई हस्तान्तरण गर्नबाट चुकिरहेका छौं । धेरै अभिभावकले अनौपचारिक रूपमा संस्कृत मन्त्रहरू बालबालिकालाई सिकाउँदै आए पनि विद्यालयमा प्रयोगमा आउन छाडेकाले अभ्यास भइरहन पाउँदैन । अभ्यासको अभावले अनौपचारिक रूपमा सिकाइएका मन्त्रहरूको शुद्ध वाचनमा कठिनाइ पर्ने गरेको छ ।

नेपालमा संस्कृत भाषालाई जातविशेषसँग जोड्ने गरिएकाले, ब्राह्मण जातिको मात्र पेवा मानिँदै आएकाले समस्या बढ्दै गएको हो । कुनै पनि भाषा एक जातिको मात्र हुन सक्दैन । कुनै पनि भाषामा सबै जाति–समुदायले अपनत्व बोध गर्न सक्नुपर्छ । विश्वसँग प्रतिस्पर्धा गर्न हाल अंग्रेजीको महत्त्व बढ्दै गएको सत्य हो, तर अंग्रेजी जान्ने मानिसले संस्कृत पनि जानेको छ भने सुनमा सुगन्ध हुनेमा दुई मत नहोला । त्यसैले शिक्षालयहरूमा संस्कृतलाई पनि अंग्रेजीलाई जस्तै महत्त्व दिने गरे केही वर्षमै त्यसको सुखद परिणाम देख्न सकिन्छ ।

नेपालमा संस्कृत विद्यालयहरू नभएका होइनन्, आमजनले यसको महत्त्वबोध गर्न नसकेका हुन् । त्यही भएर त्यस्ता शिक्षालयमा विद्यार्थीहरू कम हुँदै गएका छन् । राज्य पनि यसप्रति अपेक्षित चनाखो हुन सकेको छैन । संयुक्त राष्ट्र संघका अनुसार, विश्वभरि बोलिनेमध्ये ९७ प्रतिशत भाषा संस्कृतबाट प्रभावित छन् । धेरैजसो भाषाको मुहान संस्कृतलाई जगेर्ना गर्नु हाम्रो कर्तव्य हो । मुहान भनेको जरो हो, स्रोत हो । जरो नै कमजोर भए हाम्रो अस्तित्व पनि सबल रहन सक्दैन । त्यसैले संस्कृतप्रति हामीमा पहिलेझैं ‘काक चेष्टा’ रहनु सान्दर्भिक हुन्छ ।

Friday, January 29, 2021

Published in Kantipur

 

बलात्कार रोक्न सामाजिक अनुसन्धान

नमिता पौडेल
https://ekantipur.com/opinion/2021/01/25/161154192639353087.html?fbclid=IwAR3koNTDyAqmEu7KNCDutudESAeVwq0mtRM1SFrcsQKr_FwvujxbkUb5lcY

कोरोना महामारीमा अबोध बालिकाहरू बलात्कृत भएका समाचार आइरहे । बलात्कारीले आजीवन काराबासको सजाय पाए भन्ने समाचारचाहिँ त्यति पढ्न पाइएको छैन ।

बालिकाहरू घरबाहिर हिँडडुल गर्दा सुरक्षित महसुस गर्न कहिले पाउँछन् र बालिकालाई सुरक्षा दिने समाज बनाउन के गर्न सकिन्छ भन्ने प्रश्नको उत्तर अनुसन्धानबाट पाइएला तर यस्ता घटनासम्बन्धी अनुसन्धान गर्ने संस्था नेपालमा कम छन् । बलात्कारीहरूलाई राज्यले नै संरक्षण गरिरहेको छ ।

बलात्कार बढ्नुको पछाडि लैंगिक विभेद प्रमुख कारक तत्त्व हो । यहाँ महिला भएकै कारण हरेक कुरामा पुरुषको अधीनमा रहनुपर्छ । समाजका मूल्य–मान्यता र संस्कार महिलामैत्री छैनन् । फलस्वरूप महिला पुरुषको तुलनामा आर्थिक, राजनीतिक र भावनात्मक रूपमा कमजोर छन् । छोरी सानो छँदा बुबा, वयस्कमा श्रीमान् र वृद्धा हुँदा छोरोको अधीनमा रहनुपर्ने मान्यताले महिलालाई आश्रित बनाइरह्यो । घरबाहिर सकभर ननिस्किने, निस्के पनि ‘कसैले केही भन्दा मुख नफर्काउनू है’ भन्ने संस्कार पाएर हुर्केका महिला सधैं डरमा बाँचे । यसले अन्यायविरुद्ध लड्नुको सट्टा चुप रहन सिकायो । छोरीले थोरै खान्छन्, त्यसैले शारीरिक रूपले छोराभन्दा कमजोर हुन्छन् भन्ने सुन्दै छोरीहरू हुर्किए, जसले गर्दा शारीरिक रूपमा कमजोर भए पनि नभए पनि उनीहरूले आफू कमजोर भएको भ्रम पालेर बसे । भइपरिआउने घटनाका लागि तयार हुन सकेनन् ।

मानसिकता परिवर्तन गर्नुको सट्टा अझै पनि समाजले छोरीले लगाएको छोटो लुगा र रातो लिपस्टिक परिवर्तन गर्न खोज्छ । ‘मर्द’, ‘पुरुषार्थ’ जस्ता शब्दले महिला शोषणलाई उक्साइरहेका छन् । प्रेम प्रस्ताव स्वीकार नगर्ने महिलालाई ‘उठाएर ले, एसिड हान्दे, जबर्जस्ती गर्, पेट बोकाएर छोड्दे’ जस्ता संवाद कतिपय सिनेमामा प्रयोग भइरहेका छन्, जसले पुरुषहरूलाई दुरुत्साहन गरिरहेको छ । उता महिलालाई भने ‘तिमी सावधान हुनुपर्छ’ भनेर सिकाइएको छ । लैंगिक समानता नभएसम्म बलात्कारी जन्मिरहन्छन् ।

मानिसको आचरण उसकै वरिपरिको वातावरणले निर्माण गर्छ । व्यक्तिको सोच पनि समाजले बनाउँछ । बलात्कार कम गर्न परिवारले दिने अनौपचारिक ज्ञान र औपचारिक शिक्षाको भूमिका महत्त्वपूर्ण हुन्छ । विश्वव्यापीकरणसँगै हाम्रो समाज विश्वव्यापी प्रविधिसँग जोडियो । इन्टरनेट र स्मार्ट फोनको विस्तारसँगै पोर्नोग्राफी सर्वसुलभ भयो । अश्लील भिडियोहरूमार्फत पुरुषले आफ्नो शारीरिक आवश्यकता जसरी पनि पूरा गर्नुपर्छ भन्ने सिकिरहेका छन् । समाजले त्यस्ता पुरुषहरूलाई ‘शारीरिक आवश्यकता आपसी सहमतिमा पूरा गर्नुपर्छ, जबरजस्तीमा हैन’ भन्ने ज्ञान दिन सकेको छैन । अश्लील भिडियोमा रोक लगाउनु समाधान हैन, पुरुषहरूको सोचाइलाई सुधार्नुपर्छ । पश्चिमीकरणले निम्ताएको पोर्नोग्राफी मात्रै सायद बलात्कारको कारक होइन । यौनसम्बन्धमा सहमति र स्वतन्त्रता चाहिन्छ भन्ने कुरा पनि हरेक व्यक्तिले बुझ्नु जरुरी छ ।

महिलामाथि हुने विभेदलाई श्रमका आधारमा पनि व्याख्या गर्न सकिन्छ । महिलाले बच्चा हुर्काउनु र भान्छाको काम गर्नुपर्छ भनिन्छ, हाम्रो समाजमा । साधारण मानिसको चेतनामा यो बसेको छ— घरमा पाहुना आए छोरा गफ गरेर बस्नुपर्छ, छोरी भान्छातिर लाग्नुपर्छ । धेरैजसो बलात्कार महिलाघरमा एक्लै परेको मौका छोपी हुने गरेका छन् । र, महिलाले त्यसको प्रतिकार गर्ने आँट गर्न सकेका छैनन् । बसाइँसराइ, वैवाहिक जीवनमा खटपट/डिभोर्स, सांस्कृतिक विभिन्नताजस्ता कारण बलात्कार बढिरहेका छन् ।

हालै बैतडीमा ५ वर्षीया बालिकाको बलात्कार भयो । उनलाई काखीमा च्यापेर घरबाट बोकेर हिँड्ने व्यक्ति ‘डिभोर्सी’ थिए । यद्यपि उनी नै बलात्कारी रहेको प्रमाणित भइसकेको छैन । पीडित परिवार कारबाहीको माग राखी सरकारी निकाय चहारिरहेको छ । बलात्कारी पक्राउ परे पनि सजाय पाउँछन् कि पाउँदैनन्, भविष्यले बताउला । तर, अलिक दिनमा यो घटना सबैले बिर्सिन्छन् । घटनालाई पछ्याउँदै समाचार आउन छोड्छ । फेरि अर्को घटना दोहोरिन्छ अनि सामाजिक सञ्जालमा ‘बलात्कारीलाई फाँसी दे’ भन्दै आक्रोश पोखिन्छ ।

गत साउनदेखि मंसिरसम्म १० वर्षमुनिका १३४ बालिका बलात्कृत भएको तथ्यांक सार्वजनिक भएको छ । तर, बलात्कारीले सजाय पाएको तथ्यांक बाहिरिएको छैन । किन बलात्कारीले सजाय पाउँदैनन्, यसमा कसको कमजोरी छ भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ । कुन मनसायले पुरुषलाई बलात्कारजस्तो जघन्य अपराध गर्न प्रेरित गर्छ र त्यसका सामाजिक कारण के–के हुन् भन्नेबारे पनि खोजी हुनुपर्छ । यस्ता प्रश्नको उत्तर प्रहरी अनुसन्धानले मात्र दिँदैन, त्यसका लागि घटनाको प्रकृतिअनुसार बृहत् सामाजिक अनुसन्धानको खाँचो पर्छ ।

namita.dlb@gmail.com

प्रकाशित : माघ १२, २०७७ ०८:१७

केही नबुझ्न मन छ

 



महेन्द्र राजमार्गको त्यो पल्लो कुनामा

काठको टाडे घरमा बसेर, स्टिलको ग्लासभरि

चियामा कोकिस चोपदै, कदमको रुखलाई नियाल्दै गर्दा

एउटा ठुलो जुलुस, महेन्द् राजमार्गमा देखिन्छ

 

मसरुम कट छोटो हेयर मै छोटै हाफपाइन्ट लगाएकी

जुलुस भन्दा नि झन्डा हेर्दै, आफ्नै बरण्डा भएको ३ वोटा मंध्ये

एउटा झन्डा निकाल्दै कदमको रुख मुनि हरियो झन्डा देखाछिन्

मुसुमुसु हास्ने पत्रकार अंकल जुलुस भित्रबाट हात हलाउछन

 

जुलुस गएपछी खुरूर कुदेर घर अगाडीको जल्पाईको रुखमा मुख अमिल्याउदा

अर्को जुलुस सोल्बेंडमा देखा पर्छ, जुलुस भन्दा नि झन्डा हेर्दै

आफ्नो बरण्डा भएको ३ वोटा झन्डा मंध्ये, एउटा झन्डा निकाल्दै

कदमको रुख मुनि रातो झन्डा देखाछिन्, हास्ने पत्रकार अंकल जुलुस भित्रबाट हात हलाउछन

 

अर्को दिन फेरी स्टिलको ग्लासभरि चियामा पाउरोटी चोपदै, कदमको रुखलाई नियाल्दै गर्दा

हास्ने पत्रकार अंकल एक्लै साइकलमा सुसेली मार्दै पेट्रोल पम्पबाट आरोलो झर्छन

चिनेपछि खुरूर कुद्दै, झरेको पहेलो कदम लाइ टोक्दै आज खोइ त झन्डा, खोइ जुलुस शोधछिन्

साइकलको अगाडी राखेको तिनकुने झन्डा निलो र रातो देखाउदै, “म मात्र यो झन्डाको हकदार”

 

मूसरुमे बालिका स्यागीमा छोटो हाफपेन्ट साडीमा बद्लिदा, जुलुस उस्तै रहेछ अनि झन्डा पनि

आज जुलुसको झन्डा हैन बरण्डामा भएको ३ वोटा  मंध्ये तेस्रो झन्डा लिन जान मन छ

अंकल  जस्तै तिनकुने झन्डा निलो र रातो देखाउदै, “म मात्र यो झन्डाको हकदार” भन्न मन छ

क्रान्तिमा हैन शान्तिमा चियामा कोकिस चोप्दै केहि नबुझ्न मन छ


नमिता पौडेल

Monday, November 23, 2020

उत्तर देउ तिमी जस्तै म किन नबनौ?

 


धार नलाएको छुरा

तिमीले गरेको कुरा !!

अचेल उस्तै लाग्छन्

काम नलाग्ने!!

 

बाटो बिराउदा आएको तिम्रो गाली !!

आर्दशको भाषणमा आएको ठुलो तालि

अचेल उस्तै लाग्छन्

अर्थ गुमेको

 

बगेको आँसु वर्षातको पानीमा रुझदा !!

म हुनुको अर्थ तिमीले नबुझ्दा

अचेल उस्तै लाग्छन्

थाहा नपाइने

 

म थामिने आधि हैन !!

म सहिदिने पृथिबी पनि हैन

म बस तिमी जस्तै स्वतन्त्र हु

त्यसैले तिमी जस्तै म किन नबनौ? !!

 

 

 

Saturday, November 7, 2020

बलात्कारीलाई सजाय

 https://ekantipur.com/opinion/2020/10/06/160195310858853746.html?fbclid=IwAR1bcUaL_0h9SAsuzOBnIMw355VXbG42Llf8XgbUgS0bYpQdznhrYTHZF9Y

Published in Kantipur 


कक्षा ५ मा पढ्ने मेरो छोरी बाल अधिकारसम्बन्धी पाठ पढ्दै थिइन् । एकै छिनपछि ‘बाल अधिकारभित्र केके पर्छ ?’ भनेर सोधिन् । कान्तिपुर दैनिककै ‘छोरीहरू कतिन्जेल असुरक्षित ?’ शीर्षक सम्पादकीय पढ्दै गरेकी मैले बुझेअनुसार भनें– पढ्न पाउनु, स्वतन्त्र भएर हाँस्न, खेल्न र डुल्न पाउनु नै बाल अधिकार हो ।

नेपाली भाषा मज्जाले पढ्न जानिसकेकी छोरीले त्यो शीर्षक पनि पढिन्, म कालोनीलो भएँ । सधैंजसो बलात्कारका समाचारले पत्रिका भरिएको हुन्छ । एकातिर छोराछोरी समान हुन् भनेर वकालत गर्दै हिँड्नुपरेको छ, अर्कातिर छोरीलाई साङ्लो बाँध्न समाजले बाध्य पारेको छ । कतिन्जेल भन्नु– छोरी, तिमी पल्लो घरको दाइको काखमा नबस, त्यो अंकलको छेउमा नजाऊ, पसलको दाइले बोलाउँदा नसुनेझैं गर, टाइट लुगा नलगाऊ ... ! हिँड्न, बोल्न र हाँस्न पाउने उसको स्वतन्त्रतालाई मैले नै बाँध्दै छु ।

बलात्कारलाई समाजले एक प्रकारले मलजल गरिरह्यो । कानुनले पानी हाल्यो । अहिले यो ठूलो वृक्ष भएको छ । तीन महिनाको अन्तरालमा ६४२ करणी मुद्दा दर्ता हुनुले यसको जरा झन् गहिरिँदै गएको देखिन्छ । उस बेला रेडियोमा पोखरामा नमिता–सुनिताको बलात्कारपछि हत्या भएको घटनाबारे समाचार धेरै बजिरहन्थ्यो रे ! मेरा बुबाले अब आउने नमिताले यस्तो घटना भोग्न/सुन्न नपरोस् भनेर मेरो नामै नमिता राखिदिनुभएको रे ! तर त्यसको साढे तीन दशकपछि पनि त्यस्ता अमानवीय घटना भइरहेका छन् । निर्मूल हुने कुनै संकेत देखिँदैन । दिनहुँजसो मारिन बाध्य छन् दिदीबहिनी । यस्ता घटना सुन्न नपरोस् भन्ने बुबाहरू आज पनि छोरी जन्मिँदा त्रस्त छन् । यति धेरै बलात्कार भइरहँदा समाज, कानुन र राज्य यिनलाई रोक्न किन असफल भएका हुन् ? यो कस्तो सामाजिक संरचना हो जसले बालिका/महिलालाई असुरक्षित बनाइरहेको छ ? सामाजिकीकरण शोषण, हत्या, हिंसा र बलात्कारको प्रमुख कारक तत्त्व हो । मेरो छोरो कुनै अप्रिय घटनामा सामेल हुन्छ भने यहाँ दोषी समाज हुन्छ, मेरो संस्कार हैन । किनकि मेरो छोराको बढी समय मसँग भन्दा साथी, विद्यालय र अरू सामाजिक एजेन्टसँग बितिरहेको हुन्छ ।

अहिले बलात्कारको अभियुक्तलाई मृत्युदण्डको सजायको माग भइरहेछ । तर एउटालाई मृत्युदण्ड दिएर बलात्कार कम हुने होइन । घटना किन हुन्छ भनेर ‘रुट कज’ खोज्न जरुरी छ । माया–प्रेम, रिस–आवेग पनि व्यक्तिगत हैन । माया र आवेग कसरी उत्पन्न हुन्छ भन्ने कुरा हामी कस्तो समाजमा हुर्किएका छौं भन्नेले निर्धारण गर्छ । पुरुषले महिलालाई एक्लै भेटे बाटो छेकेर बलात्कारको प्रयास गर्ने र महिलालाई बचाउन हिरो आउने सिनेमा हेरेर हामी हुर्कियौं । धर्म, मिडिया र पाठ्यपुस्तकमा पनि यसरी नै महिलालाई कमजोर र पुरुषलाई बलियो बनाइएको छ ।

धर्मले मानव समुदायलाई बाँधेर राख्छ । सामाजिक मूल्यको निर्धारण धर्मले गरेको हुन्छ । हिन्दु धर्ममा श्रीमती–श्रीमान् सम्बन्धलाई भगवान् र दासका रूपमा व्याख्या गरेको पाइन्छ । पुरुषजति नै शिक्षित भए पनि महिला धर्ममा बाँधिन बाध्य छन् । गरुड पुराणले भन्छ– परिवारको हरेक क्रियाकलापमा छोराको आवश्यकता पर्छ न कि छोरीको । त्यस्तै मनुस्मृतिमा भनिएको छ– महिलाहरू केटाकेटीमा बाबुको बन्धनमा हुन्छन्, युवती अवस्थामा श्रीमान्को नियन्त्रणमा र बुढ्यौलीमा छोरामा निर्भर । हाम्रो समाजको ऐना यही हो । हरेक समय पुरुषले महिलालाई नियन्त्रण गर्ने भएपछि उसले लगाउने लुगा, बोल्ने भाषा अनि खास गरी शरीरलाई पुरुषहरूले पेवा ठान्न थाले । फलस्वरूप बालिकादेखि वृद्ध आमासम्मको लुगा, भाषा, योनि र प्राणमाथि हस्तक्षेप भइरहेको छ । हिन्दु धर्ममा महिलालाई शुद्ध–अशुद्ध अर्थात् देवी–बोक्सीको दोहोरो रूपमा हेरिन्छ । यी दुवै पाटामा महिलाहरू निकै दमित छन् । जस्तो कि, महिलालाई शुद्ध राख्न यौनाभ्यासलाई नियन्त्रण गरिन्छ अनि यो भंग हुँदा अशुद्ध ठानिन्छ ।

महिला देखेपछि आवेगमा आउनुपर्ने, नमाने एसिड छ्याप्ने, बलात्कार अनि हत्या गर्ने पुरुषको मानसिकता समाजले नै सेट गर्छ । जब माया र आवेग नै सामाजिकीकरणबाट निर्धारण हुन्छ, व्यक्तिविशेषलाई कुनै सजाय तोक्दा त्यो क्षणिक हुन पुग्छ । जरामा बिस्तारै विष हाल्न जरुरी छ र त्यो विष हो– विद्यालयका पाठ्यपुस्तक । यस्ता पाठ्यपुस्तक लैंगिक विभेदका विषयहरूले भरिएको हुनुपर्छ । नानी च्यापेको मात्र नभएर प्लेन उडाउँदै गरेका आमाको फोटो पनि राख्नुपर्छ । यसले हरेक छोरीलाई घरबाहेकको दुनियाँको कल्पना गर्न सिकाउँछ । खाना पकाउँदै गरेका बुबाको फोटो पनि राख्नुपर्छ, ताकि हरेक छोराले बुझून् खाना पकाउनु भनेको साझा काम हो । हरेक घटनाको पछि कामको बाँडफाँट र लैंगिक विभेदले पनि उत्तिकै भूमिका खेलेको हुन्छ ।

अब धर्मका शब्दहरूको पुनर्व्याख्या जरुरी छ । सिंगो समाज परिवर्तन हुनुपर्छ । आर्थिक, सामाजिक, राजनीतिक हरेक क्षेत्रले मुहार फेरे मात्र बालिकादेखि वृद्धासम्म सुरक्षित हुनेछन् । यसमा राज्यको भूमिका सबैभन्दा बढी छ । राज्यले मेरी छोरीलाई साँझमा घरबाहिर निस्केर खुला आकाश हेर्दै सपनाहरू बुन्न पाउने वातावरण र सुरक्षा दिनुपर्छ ।

Wednesday, September 16, 2020

‘मास्टरी एउटा पेशा हो, जीवन हाेइन’

 

  • नमिता पौडेल 
  • ३१ भदौ बुधबार, २०७७ | ०९:२७:०० मा प्रकाशित
  • हिजो मैले फेसबुको स्टोरीमा मेरो वजन घटेको जनाउँदै फोटो हालेको थिएँ । म कुनैपनि कुराको तत्काल उत्तर नदिन आफूलाई सम्हाल्ने प्रयास गर्छु तर कहिलेकहिँ जति गरेपनि त्यो कुराले मलाई पटक-पटक डिस्टर्ब गर्छ भने म कपीको कुनै पानामा मज्जाले लेखेर घरको कुनामा फालिदिन्छु अनि मेरो मन शान्त हुन्छ । मेरो वजन घटेको स्टोरीवालामा फोटोमा मास्टरनी भएर दुब्लो सुहाउँदैन भन्ने कमेन्ट आउँछ । अनि मास्टरनी पाइन्ट लाएर हिँड्नु विद्यार्थीले नपत्याउलान नि त ? मोटो हुनु राम्रो हैन, आवश्यक भन्दा बढि मोटाउँदै गयोभने रोगहरु लग्न सक्छ । सुगर अनि थाईराइड जस्ता समस्या देखिन सक्छ । अब मास्टरनी भएँ भन्दैमा आफ्नो शरीर सन्तुलनमा राख्न नपाउनु ? अनि के मेरो लुगाले कि मेरो ज्ञानले पढाउने  हो भन्न मन थियो तर भनिन सोचेँ उसले कुनै गलत गरेकी छैन उ पनि यही समाजमा जन्मी-हुर्की र यही समाजले सिकाएको कुरा बोल्दै छे । उसलाई जवाफ दिँदा उसले मात्र सुन्ली बरु लेखेर कुनै पत्रिकामा दिन्छु कम से कम १० जनाले सुन्छन भने लाग्यो । हो म मास्टर र ब्याचलरको विधार्थीलाई पढाउँछु तर मेरो प्रोफेसन मेरो स्वस्थ्यभन्दा पछि आउँछ, मेरो स्वतन्त्रता भन्दा पछि आउँछ किनकि पेशालाई मैले चुनेकी हो ।

    मैले ख्याल नगर्न खोज्दा खोज्दै पनि पटक-पटक त्यही कुरामा मन जान्छ । मास्टरनी अनि दुब्लो यहाँ के कनेक्सन रहेछ त हाम्रो समाजमा भनेर समाजका यीसंग जोडिएका केहि पाटाहरु खोतल्न थाल्छु । समाजशास्त्र पढेतापनि समाजलाई चिरफार नै गरेर हेर्ने गरी शास्त्री भइसकेको भने छैन तर त्यो बाटोमा भने पाइला चाल्दै छु । सम्झेँ मैले देखेका मास्टर-मास्टरनी कस्ता रहेछन त ? आज मात्र एउटा इटहरीमा एक कबिले आत्महत्या गरिन रे सानो छोरोको पनि ख्याल नगरी, भने यही समाजसंग कति बाध्य भइछिन् त हार मान्न ? त्यत्रो पढे लेखेकी कबि, साहित्यकार कतिलाई जिउने आभास दिएर आफैँ सेलाउन बाध्य भइन् । आत्महत्या रोकथाम दिवसको हप्ता पुग्न नपाउँदा यस्ता घटना घट्दा मन खिन्न हुन्छ । यहाँ हरेक मानिसलाई एउटा फ्रेम भित्र हालिदिएको छ । यहाँ कुनै महिला पुरुष भन्ने कुरा छैन सबै एउटा फ्रेम भित्र जिउन बाध्य बनाएको छ । मैले विदेशमा रहँदा धेरै साथीहरु नेपाल किन नफर्किने भन्ने प्रश्न गर्थेँ प्रायः सबैको उत्तर उस्तै हुन्थ्यो नेपालमा धेरै चियोचर्चा हुन्छ । लाउन र खान हिँड्न स्वतन्त्रता छैन अनि तिनै कुराको लोभमा परदेशमा भासिन बाध्य हुन्छन् ।

    लगभग एकवर्ष अगाडि एकजना पुरूष साथी पेशामा मास्टरसंग अचानक भेट भयो । उहाँको एउटा हातमा बियरको ग्लास, अगाडि चुरोटको बट्टा र साथमा प्रेमिका हुनुहुन्थ्यो । म चितवनबाट फर्किँदा खानाको लागि भनेर परिवारसहित त्यो रिसोर्टमा छिरेको थिएँ । मास्टर साहेब यति रातो पिरो हुनु भयो र कामे जस्तो देखिनु हुन्थ्यो लग्थ्यो उहाँले निकै ठूलो अपराध गर्नु भएको छ । मलाई देखेपछि म्याम विदार्थीसंग मेरो यो अवस्थाको कुरा नगरी दिनु होला है । यी कुराबाट थाह हुन्छ कि महिला मात्र हैन पुरूष पनि फ्रेम भित्र बधियेकै रहेछन् । समग्र हेर्ने हो भने महिला बढि होलान तर समाजभित्र संरचना, संरचना  भित्रको हामी आफैँले बनाएको नियमको सिकार भने महिला पुरूष दुवै छन् । हामी कहाँ के भ्रम छ भने पश्चिमीकारण हुँदै जाँदा हाम्रो सस्कृति लोप हुँदै छ अनि पश्चिमीकारणले गर्दा हाम्रा छोराछोरी बिग्रे । मलाई लाग्छ समस्या पश्चिमीकरणमा हाेइन हाम्रो साँगुरिएको सोचमा छ जुन हामी कहिले निकाल्न चाहँदैनौँ । 

    जतिसुकै नराम्रो नै किन नहोस हिन्दू सँस्कृति राम्रो भन्न छाड्दैनौँ चाहे यो धर्मले छुत र अछुत छुट्याओस, रजस्वला भएकी छोरी छाउपडी मै मारिउन, पिण्ड दिन ५ छोरीपछि नि छोरा नै आस गरौँ, छोरी पराई छोरा आफ्नो नै सोचौँ । हामीले आफ्नै संस्कृति राम्रो लाग्छ, जुन संस्कृतिमा परि धेरै चेली जले दाइजोको नाममा, हाम्रै संस्कृति राम्रो छ, काजक्रिया गर्दा ऋण खोजेर सम्पूर्ण कर्म गर्नुपर्ने । हुनेलाई ठीक छ नहुनेले कसरी गर्ने मतलब छैन यहाँ मात्र संस्कृति जोगाउनसंग मतलब छ । सकी-नसकी अरुको लागि ऋण लिएर संस्कृति जोगाउन ठुलै विवाह गर्नुपर्छ । यी त भए हाम्रा धर्म र संस्कृति जुन हामी हरेक पल बचाउन खोज्छौँ किनकी हामी आफूले ठीक नलागेको संग भन्दा यो समाजलाई लाग्ने ठीकसंग नाता गाँसेको छौँ अनि यही समाजले निर्धारण गरिदिएको रहेछ मास्टर र मास्टरनी वाला फ्रेम पनि ।

    म कलेजमा हुँदै निकै बोल्ड, सामजिक समस्याको मुद्दा उठाउँदै आउने म्यामले मेरो जुत्तामा हेर्दै प्रश्न गर्नु भएको थियो । कुर्तामा पनि यस्तो स्पोर्ट जुत्ता ? मैले हाँस्दै भने मलाई सजिलो लाग्छ अरुलाई जेसुकै लागोस फेरी मास्टरनीले कलेज आउँदा यस्तो लाउनु हुँदैन भनेर भनेर अग्लो (हिलवाला) जुत्ता लगाउँदा ढाड दुख्ने समस्या हुन्छ । हामीफेरी धेरैबेर उभिनुपर्छ त्यसकारण स्वस्थ नै ठूलो धन हो विचार गर्नु पर्यो नि भने । मेरो उत्तरको २/३ पछि उहाँको खुट्टामा पनि तेस्तै जुत्ता देखेँ । खुसी लाग्यो किनकि उहाँ पेशा संगै स्वास्थ्यलाई ख्याल गर्दै हुनुहुन्थ्यो ।

    म अस्ट्रेलियामा हुँदा मेरो मास्टरनीले  मिनी स्कर्टमा आएर बाहिर बसेर चुरोटको धुवाँ फाल्दा यसले के पढाउँछे  हेर्दै गुण्डनी जस्ती छे जस्तो भयो किनभने म नेपालको हावा पानीमा हुर्केँ म्याम भनेको टक्क सारी कि कुर्ता लगाएर, जेन्टल तरिकाबाट प्रस्तुत हुनुपर्छ भन्नेमा थिएँ । मेरो सोचाई बदलिन निकै समय लाग्यो अनि बुझेँ ज्ञान हाम्रो शरीर कस्तो छ भनेमा हाेइन हाम्रो सामाजिक व्यवहारमा झुल्किनु पर्छ किनकि हामी सामाजिक प्राणी हौँ र यही समाजमा बसेर सबैले राम्रो हुने काम गर्न सकियो भने हामी सबै कुशल मास्टर । मोटो, पातलो शरीरले ज्ञानको निर्धारण गर्ने भए अस्टबक्रको ज्ञानको कदर हुँदैन थियो होला । मास्टरी एउटा पेशा हो, जीवन हाेइन । मास्टर सिक्न र सिकाउनलाई जन्मेको पक्कै हो तर जीवनलाई बिर्सेर हाेइन । हरेक पेशालाई सम्मान गरौँ ।https://gaunsahar.com/news-details/33625/2020-09-16

  • Tuesday, September 8, 2020

    साक्षरताको नतिजा

    https://ekantipur.com/opinion/2020/09/08/159953136252557618.html 

    कान्तिपुरमा प्रकाशित

    निजामती अस्पतालको  स्वस्थकर्मीलाइ आफ्नै टोलमा राखेको भनेर स्थानीयवासीलेले बिरोध गरिरहदा शिक्षित र साक्षर मनिने जनता हरु त्यही भीडमा थिए आज देशलाइ सबै भन्दा बडी जरुरि रहेको स्वस्थकर्मीहरु माथि यो खालको ब्यबहारले पक्कै पनि सकारत्मक सन्देश छर्दैन के हाम्रो देशमा बिगतमा भन्दा बढेको साक्षरताको नतिजा हो त? शिक्षित, साक्षरता र हाम्रो समाज को कुरा गरिरहदा  सन् १९६५ देखि युनेस्कोले हरेक बर्षको सेप्टेम्बर ८ लाइ विश्व साक्षरता दिवस मान्दै आएको छ र यो वर्षाको साक्षरता दिवस पनि केहि दिनमा आउदै छ तर बिगत भन्दा बढेको साक्षरताको हाम्रो परिचय खोइ? यही सन्दर्भमा आफुले भोगेका र देखका शिक्षित, साक्षरता र हाम्रो समाजको कुरालाइ समेटदैछु

    म एकजना पी एच डी गरेको अंकललाइ छ महिना अगाडी भेट्न गएको थिए धेरै बेर कुरा भयो कुन बिषयमा पी एच डी गर्दा राम्रो, कुन देशमा जस्ता विषयमा छलफल भएपछि जेन्डर समतालाइ जोडेर अनुसन्धान गर्ने सल्लाह पनि दिनुभयो  लगभग १ घण्टा बितिसकेपछि अंकलले आन्टीलाइ चियाको लागि भन्नुभयो तर आन्टीले आँखा झिमिकाउदै तपाईनै बनाउनु भन्नुभयो अंकलले केहि बुझे जस्तो गरेर, मलाई भान्छामा डाक्दै चिया पकाउन थाल्नुभयो अंकलले आफ्नो ब्यबहारमा नि  लेंगिक समानता उतार्नुभएको रहेछ  भनेर मनमनै खुसि हुदै गर्दा यो आइमाइको काम, मरिचको बट्टा कता छ ह? भनेर अलिक ठुलो स्वरमा कराउन थाल्नु भयो उत्ताबाट जबाफ आउने बितिकै  चियामा मरिच हाल्दै अंकल बोल्नुभयो म त खासै भान्छामा छिर्दीन, उनि छुइ भाकी छिन् मेरो  मनको खुसिमा  ढुसी आयो कुरा यहाँ अरु पनि थियो छुइ भाको बेला झन् बडी काम गर्नु पर्ने आन्टीको बाध्यता रहेछ र आन्टीमा पनि यसैमा बानि परेकोले खुसि देखिनुहुन्थियो  

    सन्दर्भ अर्को तर मेरै समाजको कुरा गर्दा, म छिमेकि संग बाटोमा बसेर कुरा गर्दै थिए मेरो छिमेकि, घरका सबै परिवार शिक्षित र उनि स्वं एक सरकारी स्कुलका शिक्षक हुन् एउटा जोडी आए र घर भाडा बस्नमा खोच्दै हिनेको कुरा सुनाएपछि दिदि बोल्नुभयो के थरि हो? कति जना बस्ने, कति वोटा कोठा खोज्नुभएको भन्ने प्रश्न तेर्साउनुभयो सबै जवाफ सुनिसकेपछि दिदिले कोठा दिने भन्ने त सोचेको तर छोरा छोरि बढेका छन् आफै लाई चाईन्छ भन्नुभयो कुरा यहाँ जातको थियो दिदिको भाबले बुझ्न सकिन्थियो र दाइले पनि थपे ठिक्क भनेउ मैले मलाई अर्कै ग्रह बाट झरेको अनुभव गरे जुन  कुरा अरु लाइ ठीक लागिरहेको थियो मलाई किन थिएन, आखिर म पनि त येही समाजको थिए

    मेरो मिल्ने साथी समाजशास्त्रमा एम ए गरेकी छिन्, फोन गरेर पुर्णिमाको बेलामा सहबास गर्दा छोरो हुन्छ रे हो तिमिले पनि तेही गरेको हो? भन्ने प्रश्नमा मेरो हासो रोकिएन किन पहिलो बच्चा जे भए नि ठिकै छ नि भन्दा  म त एउटानै पाउने, छोरा भए हुन्थियो क्या, साथी को उतर थियो अब यी साक्षर साथिको विचार जुन हाम्रो समाजको संरचनाले एउटा आकार दिएको छ त्यो गलत र सहि भन्ने म एउटा समाजको सदस्यलाइ हक नहोला किनभने फेरी पनि भन्छु म अर्को ग्रहको हैन तर मलाई यो कुरा पनि ठीक लागिरहेको छैन म चुप बस्दा उत्ता बाट नसोधिएको उत्तर आएको थियो तिम्रो त छोरा छोरि छदै छ अब त जे भनेर वकालत गर्दा नि भैहाल्छ अचानो को पिर खुकुरी लाई के थाह? म फेरी पनि चुपनै रहे

    साक्षरताले मानवको परिचय र उस्को संस्कारलाई अझै बृद्धी गर्दछ मानब हुनु भनेको अरु मानब लाई आफु जस्तै ब्यबहार गर्नु जुन साक्षरताको पहिलो परिभाषा हो एउटा विधा बरिधि गरेको, साक्षरता को उचाईमा सगरमाथा पुग्नुभएको अंकल बाहिर लैंगिक समानताको कुरा गर्दै हिन्दा घरमा छुइ भएको श्रीमती लाई शारीरिक भार पर्ने काम गरिरहदा ‘टेकन फर ग्रान्डटेड’ को रुपमा लिरहेको हुनहुन्छ भने आगामी दिनमा हुने साक्षर मानब (हामि) बाट आउने सन्ततिले के सिक्ने ? किनकि म स्वं साक्षर हुदा हुदै पनि त्यो कुरामा मैले बिरोध जनाउन सकिन एउटा शिक्षक जो ज्ञान बाड्ने काम गर्छ उसले जात छुट्याउछ भने कहिले यो समाजबाट जातीय विभेद हटेर जान्छ? एउटा शिक्षित नारी पनि पिण्ड दिने छोरा मात्र जन्माउने कुरा गर्छिन भने नारी भूर्ण हत्या कहिले रोकिन्छ?  यी त थिए साक्षरको भीडमा म आफै साक्षर भएर पनि बोल्न नसकेको अवस्था र यो मेरो मात्र छैन, मैले मात्र बुझेर हुदैन

    नेपालको संबिधान भाग ३ मैलिक हक र कर्तब्य धारा ३१ मा शिक्षा सम्बन्धि हकमा मज्जालेनै पाउने पर्ने शिक्षा को वकालत गरिएको छ शिक्षा नपाउनेहरको सन्दर्भलाइ छेउमा राख्दै जो आजको मितिमा साक्षरको पंक्तिमा परेका छन् उनि हरु मात्र परिबर्तन भइ सस्कार भित्र रहेको मैलो लाई  शिक्षा बाट  पाएको साक्षररुपी ज्ञान साबुनले धुन सके मात्र पनि लेंगिक असमानता कै आधारमा हजारौ चेली शारीरिक यातना खेप्नु पर्दैन थियो होला,  जातकै आधारमा नबराज बि क जस्ता देशको एउटा नागरिक को ज्यान जादैन थियो होला, येस्ता कैयो घटना घट्दै घट्दैन थियो होला  जुन आज हाम्रो समाजमा घटिरहेको छ

    विश्व साक्षरता दिवसलाइ नेपालले पनि मान्दै आएको छ र यसको उदेश्य भनेको हेरक नागरिकमा शिक्षाको अधिकार नै हो जुन नेपाल सरकारले पनि दिएको छ अधिकारको  बाबजुद पनि शिक्षा मन्त्रालयको अनुसार ३० जिल्लाका ३ लाख नागरिक अझै साधारण लेखपढ गर्न नसक्ने जानकारी छ २०६५ मा जनगणना अनुसार  १५ दखि ६० वर्ष का ७८ लाख व्यक्ति निरक्षर थिए  भने  अर्थात् कुल जनसख्याको ६५ दशमलब ९ प्रतिसत जनता भने साक्षर थिए जुन अहिले बढेर ८० प्रतिसतमा पुगेको दाबी छ तर ८० प्रतिसत जनसख्या साक्षर हुदा पनि समाजमा रहेका कुरुती,  लेंगिक असमानता, जातीय भेदभाव, बर्ग भेदभाव, भ्रस्टाचार किन हट्न सकेन?  यस्तै हो भने त १०० प्रतिसत जनता साक्षर हुदा पनि मानब अधिकार सुरक्षित हुदैन

    बिस्व डीजिटल युगमा कुद्दै गर्दा साक्षरताको महत्व एकतिर छ भने अब हामी मानबलाइ आफ्नो मात्र अधिकार सुरक्षित गरेर पुग्दैन हामीले फर्ने नि –शुल्क सास अर्थात् बातावरणको संरक्षण, वन्यजन्तुको संरक्षण, कुकुर बिराला सबैको अधिकारको ख्याल गर्नु परेको छ यो अवस्थामा के हामिले पाएको ज्ञानको गुणस्तर मापन गर्दै छौ त? निजगढमा बन्ने विमानस्थल विकास कि प्रकितिको बिनास, आज पनि विवादमै छ यस्ता समस्या को हल गर्न जरुर्री छ विकास गर्दा बिनास हुनुहुदैन भन्ने कुरा हामिले पाउने शिक्षामा समाबेस हुन जरुरि छ हामी नेपाली माझ शिक्षाले ठुलै फड्को मार्द पनि  विश्वब्यापीकरणमा परेर परनिर्भरता बढ्दै जानु, समाजको मैले फाल्नु नसक्नु हो भने साक्षर हुनुमा गर्ब छैन देशमा भएको सोत् र सामग्रीको सहि सदुपयोग होस्, देश स्व निर्भर बनोस केन्द्रका देश हरुमा ब्रेन ड्रेन नहोस भ्रस्टाचारले गर्दा देश विकास को तर्फा लम्किन बाधा सिर्जना नहोस हरेक नागरिक ले समान शिक्षा पाउन र सदुपयोग गर्ने अवसर पनि जसले गर्दा बेरोजगारी भएर युवा हरु कुलतमा नफसुन   अक्षर चिन्नुलाई गर्ब गर्ने भन्दा पनि अक्षर चिनेर भएको परिवर्तन माथि गर्ब गर्ने बाताबरण बनोस अनि मात्र हामी साक्षर नागरिक भनेर कहलिनु राम्रो होला